ad ad

राजनीति


कांग्रेस विवाद विद्यार्थी र तरुणमा अड्किँदा के गर्दैछन् युवानेता?

कांग्रेस विवाद विद्यार्थी र तरुणमा अड्किँदा के गर्दैछन् युवानेता?

सागर न्यौपाने
पुस ६, २०७६ आइतबार १५:२७,

२०४८ सालतिर जब पञ्चायती व्यवस्था ढालेर बहुदल स्थापना भयो, त्यतिबेला कांग्रेस पार्टीको नेतृत्वमा युवा नेताहरुको एउटा समूहले महत्वपूर्ण भूमिका पायो।

तत्कालिन सभापति कृष्णप्रसाद भट्टराई, नेताहरु गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य तीन युवा नेतालाई कांग्रेसको केन्द्रीय राजनीतिमा अवसर दिए। ‘आरएसएस’ नामले चिनिने ती प्रभावशाली युवाहरु कांग्रेसभित्रको केन्द्रीय राजनीतिमैं प्रभाव पार्न सक्ने ल्याकत राख्थे।

विवाद मिलाउन भट्टराई, सिंह र कोइरालाले उनीहरुसँग छलफल गर्थे। मध्यथ्यताको जिम्मेवारी दिन्थे। त्यसपछि बनेको सरकारमा उनिहरुले महत्वपूर्ण जिम्मेवारी पाए। बहुदल पुनर्स्थापना पछिको पहिलो निर्वाचित सरकारमा देउवा गृहमन्त्री, पौडेल स्थानीय विकास र आचार्य वन तथा कृषि मन्त्री बने।

कांग्रेसमा त्यसपछि अर्को समूहको उदय भयो २०५४ सालतिर। त्यसमा थिए– अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार। ‘एकेजिवी’ नामले चिनिने त्यो समूहसँग सभापति गिरिजाप्रसाद कोइरालाले निरन्तर छलफल परामर्श गर्थे।

२०५६ सालमा कांग्रेस ठूलो पार्टी भएपछि संसदीय दलको निर्वाचनमा खुमबहादुर खड्का, रामचन्द्र पौडेल र शैलजा आचार्यलाई मनोनयन नै गर्न नदिएर शेरबहादुर देउवालाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिएको थियो। त्यसक्रममा पार्टीभित्र विवाद भएपनि मिलाएर लैजाने कोसिस भएको देखिन्थ्यो। तर उनै देउवाले २०५९ असारमा कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए ।

झण्डै पाँच वर्ष छुट्टै पार्टीको नेतृत्व गरेपनि २०६२÷६३ को जनआन्दोलन सफल भएपछि केही केही पुराना र युवा नेताहरुको अग्रसरतामा २०६४ असोजमा पार्टी एकीकरण गरियो। गिरिजाप्रसाद कोइराला नै पार्टी सभापति रहे भने देउवालाई वरिष्ठ नेताको जिम्मेवारी दिइयो ।

तिनै देउवा अहिले सभापति र पौडेल वरिष्ठ नेता छन्।

२०४६, २०५६ र २०६३/६४ का विभिन्न राजनीतिक घुम्तीहरु पार गर्दै आएका देउवा र पौडेल अहिले पार्टीको संस्थापन र असन्तुष्ट पक्षको नेतृत्व गर्दैछन्। यी दुई कित्ताबीचको विभिन्न मनमुटावका कारण विगत केहि हप्तादेखि कांग्रेसभित्र गतिरोध कायम छ।

आफूहरु युवा नेता हुँदा तत्कालिन शीर्ष तहका नेताहरुलाई जसरी उनीहरुको सुझाव र सहयोग लिन्थे त्यसैगरि देउवा र पौडेलले अहिलेका युवा तहबाट भने लिने गरेको देखिँदैन।
देउवा र पौडेलबीचमा रहेको तीव्र विवादका कारण केन्द्रीय कार्यसमिति बैठक मंसिर २६ देखि बस्नै सकेको छैन। दुई पक्षको आफ्नो अडानको कारण महत्वपूर्ण निर्णय गराउन बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ।

अहिले विद्यार्थी संघ र तरुण दलमा गएर विवादको गाँठो कस्सिँदा न त पार्टीका शीर्ष नेताहरुले तिनै संस्थाको नेतृत्व गरेका युवा नेताहरुको कुनै भूमिका खोजेका छन् न त स्वयं युवाहरुले नै त्यसका लागि कुनै तत्परता देखाएका छन्।

देउवा र पौडेल पक्षले भ्रातृ संस्था तरुण दल र नेविसंघमा आ–आफ्ना पक्षको गुटलाई अगाडि बढाउने रणनीति लिएको देखिन्छ। सभापति देउवाले नेवि संघमा हाल रहेको तीन महामन्त्रीको संख्यालाई बढाएर चार बनाउन प्रस्ताव गरेपछि पौडेल पक्षले सात बनाएर तीमध्ये कम्तिमा तीन जना आफ्नो पक्षबाट हुनुपर्ने माग राखेका छन्। यसमैं सहमति नजुट्दा जारी विवाद लम्बिएको छ।

युवा नेता तथा केन्द्रीय सदस्य गुरु घिमिरेले कांग्रेसभित्र यस्ता विवाद सल्टाउन युवाको भूमिका हुनुपर्नेमा उल्टै नेतृत्वले चलाएको गुटमा युवाहरु प्रयोग भइरहेको बताए।
विगतमा आँफै युवा हुँदा नेतृत्वलाई मेलमिलाप गराउने, परामर्श दिने र विवादको अन्त्य गराउने नेताहरुले नै गुट बनाएर युवालाई किनारा लगाएको उनको आरोप छ।

‘युवाहरुबाट वर्तमान नेतृत्वले थ्रेट (असुरक्षा) महशुस गरिरहेको छ। संभावित चुनौति ठानेपछि किनारामा धकेल्ने काम हुने नै भो,’ उनले भने।

त्यसो त युवा नेताहरु आफैं पनि जोखिम उठाउन हिच्किचाइ रहेको घिमिरेको बुझाई छ। ‘युवा नेताहरुमैं असुरक्षाको महशुस् भएको देखिन्छ। गुटको सदस्य भए मात्र अवसर पाउने कारण उनीहरु पार्टीप्रति भन्दा गुटप्रति बफादार हुन थाले र निश्चित नेताका लागि काम गर्न थाले,’ घिमिरेले नेपालखबरसँग भने। ‘युवाहरुमै एकता रोकियो अनि आन्तरिक समस्या समाधानमा भन्दा आफ्नै सेटिङतिर ध्यान दिँदा युवा नेताहरुको हैसियत नेताका सहयोगी मात्र बन्यो।’

एकातर्फ युवाहरु एकजुट नभएको र अर्कोतर्फ पार्टीको नेतृत्वले विधान मिच्न लागिपरेका कारण पार्टीभित्रको आन्तरिक विवाद नमिलेको तर्क गर्छन अर्का युवा नेता प्रदीप पौडेल। उनले कांग्रेसभित्र अहिले भएका शीर्ष नेता मिलेर मात्रै विवाद समाधान नहुने भन्दै युवाहरु पनि मिल्नुपर्ने बताए।

‘शीर्ष र वरिष्ठ नेताहरु नै युवा प्रयोग गरेर पार्टीको विधान मिचिरहेका छन्,’ तरुण दल र नेविसंघमा देखिएको विवादतिर संकेत गर्दै पौडेलले भने, ‘तीनै जना नेताका आआफ्ना गुट छन्, त्यसलाई अन्त्य गराउन युवा नेताहरुको भूमिका भएपनि हामी नेतृत्वसँग डरायौं। त्यसैलाई उनीहरुले आफ्नो शक्ति ठाने।’

केन्द्रीय सदस्य कल्याण गुरुङले युवा नेताहरुलाई नेतृत्वले फुटाउन सफल भएकै कारण कुनै भूमिका नदेखिएको प्रष्टिकरण दिए। पार्टीभित्रको विवाद समाधान गर्न जसरी युवा नेताहरुले पहलकदमी लिनुपथ्र्याे त्यसमा नेतृत्व नै बाधक बनेको उनले आरोप लगाए । उनले भने, ‘१३औं महाधिवेशनपछि पार्टीभित्रका प्रभावशाली युवा नेतालाई भागवण्डा गरेर

वर्तमान नेतृत्वले आफ्नो गुटमा राख्यो त्यसैले हरेक विषयको निकासका लागि युवाहरु अग्रसर रहने बाटो बन्द भयो। युवा नेताहरुलाई नै फलानो गुटको भन्ने ‘ट्याग’ लागिहाल्यो ।’
केन्द्रीय सदस्य घिमिरे विवाद समाधानमा युवाहरु अग्रसर हुनलाई जोखिम लिन नसकेको बताउँछन् । उनी भन्छन्, ‘युवाहरु मध्यस्थता गर्न चाहदैनन, अग्रसरता पनि देखाउँदैनन।

किनभने उसलाई नेतृत्वको बक्रदृष्टि लागिहाल्छ।’ ‘नेतृत्वको शिकार र उपेक्षित भएर अवसरबाट बञ्चित हुनुभन्दा चुप बस्नु ठीक देखेका छन्।’ उनका अनुसार कांग्रेसभित्रका युवा नेताहरु त्रासदीको तरवारमा बसेर काम गरिरहेका छन्।

उनकै भनाईमा समर्थन गर्दै नेता गुरुङले पनि युवा नेताहरुमा चार किसिमको समस्या औल्याएँ।

युवा नेताहरुमा आत्मविश्वाको कमी रहेको, प्रलोभनमा फस्ने गरेको, नेतृत्वसँग भयभित भएको र पदलोलुपता देखिएका कारण नेतृत्वले युवाहरुको क्षमतालाई कमजोर बनाएको उनले बताए।

नेता घिमिरेले पार्टीका युवा नेताहरु एकजुट भएर पार्टीका विवाद समाधान गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए। नयाँ विचार लिएर अघि नबढ्ने हो भने जसरी पछिल्लो दिन पार्टीमा नयाँ युवाहरुको पार्टीमा प्रवेश रोकिएको छ, भोलि योभन्दा कठिन अवस्थामा कांग्रेस पुग्ने उनले चेतावनी दिए।

‘भिजन र विचार बोकेको युवा नेतृत्वसँग डरायो, गुटमा फस्यो भने उसको विचार स्खलित मात्रै हुँदैन त्यसले सिंगो पार्टीभित्रको अग्रगमनलाई समेत रोक्छ,’ उनले भने ।
कांग्रेसभित्र १४औं महाधिवेशन सबैलाई लागेको छ। यस वर्ष महाधिवेशन नगरेपछि वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाले आ–आफ्ना गुटका युवा नेताहरु च्यापेर हिडिरहेका छन् ।

नेताहरु पार्टी बनाउन भन्दा पनि आफ्ना मान्छेको व्यवस्थापनमा लाग्दा समस्या बढेको घिमिरेले बताए।

गुट–उपगुटले कमजोर बनेको कांग्रेसका विवाद समाधान त होलान् तर, भागवण्डा गरिएको विवाद समाधानले दीर्घकालिन असर पार्ने खतरा देख्छन् युवा नेता प्रदीप पौडेल।
विधि स्थापित गरेर विधानहरुको पालना गर्दे पार्टी अगाडि नबढे आगामी दिन झन् समस्याग्रस्त हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .