सत्ता गठबन्धनका सांसदहरुले २०७८ फागुन १ गते संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव बुधबारदेखि निष्क्रिय भएसँगै चोलेन्द्र शमशेर जबरा एक सातालाई प्रधानन्यायाधीश रहने भएका छन्।
संसद सचिवालयका महासचिव भरतराज गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र थमाएसँगै चोलेन्द्र सरकारी निवास बालुवाटारबाट सर्वोच्च अदालत जाने तयारीमा छन्।
बिहीबार सार्वजनिक बिदा भएकाले उनी बुधबार दिउँसो ३ बजे सर्वोच्च पुगेर हाजिर गर्ने तयारीमा छन्। उनले यसको जानकारी आफूनिकटस्थहरुलाई दिइसकेका छन्।
चोलेन्द्रको कार्यकाल अब केबल एक सातालाई बाँकी छ। आगामी २७ गते अनिवार्य अवकाश पाउँदैछन्। यस्तोमा उनी बुधबारदेखि एक सातालाई सर्वोच्चको प्रधानन्यायाधीशका रुपमा काम गरेर अवकाशमा जानेछन्।
जबराविरुद्धको महाभियोग प्रस्ताव गत वर्ष फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो। त्यसपछि गत असोजमा संसदको ५ वर्षे कार्यकालय सकिएसँगै महाअभियोग प्रस्तावको भविष्यबारे अन्योल भएको थियो।
तर महाअभियोग सिफारिस संसदीय समितिका संयोजक रामबहादुर विष्टले गत असोज १ गते संसदलाई पत्र लेख्दै चोलेन्द्रविरुद्धको मुद्दा नयाँ संसदमा सरेर जाने उल्लेख गरेका थिए।
चोलेन्द्रलाई महाअभियोग लगाइएपछि दीपक कार्कीले कायममुकाम प्रधानन्यायाधीशकै रुपमा काम गरेर अवकाशमा गइसकेका छन्। अहिले हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।
चोलेन्द्र फर्किने भएपछि सर्वोच्चको नियमित फुलकोर्ट बैठकमा यही एजेन्डाले प्रवेश पाएको थियो।
त्यस्तै नेपाल बार एसोसियसनका पदाधिकारीहरुको आकष्मिक बैठक पनि बसेको छ। यो बैठकपछि अहिले वकिलहरु सर्वोच्च परिसरमा धर्नाका लागि जम्मा हुन थालिसकेका छन्।
Shares
प्रतिक्रिया