नेकपा एमालेले धर्म प्रचारसँग जोडिएको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएपछि चर्को आलोचना भइरहेको छ।
अध्यक्ष केपी शर्मा ओलीको उक्त निर्णयलाई लिएर दोस्रो र तेस्रो पुस्ताका एमाले नेताहरु पनि सामाजिक सञ्जालमा घेरिएका छन्।
एकनाथलाई समानुपातिक सांसद बनाएपछि सामाजिक सञ्जालमा सक्रिय भइरहने एमाले नेता गोकुल बास्कोटालाई पनि प्रश्नको वर्षा भएको छ।
उनले आफूलाई एमाले र जनताको बहुदलीय जनवादको दृढ समर्थक भएको बताउँदै पार्टीको आधिकारिक निर्णयलाई जोडेर नसोध्न पनि भनेका छन्।
'म एमालेको दृढ समर्थक हो र जबजको पनि।तर अधिकारी होइन। तसर्थ एमालेले लिने आधिकारीक निर्णयमा मलाई जोडेर मेन्सन नगर्न सबै ट्वीटे र फेसबुकेलाई आग्रह छ', उनले भनेका छन्, 'अवश्य नै मेरा पनि मत होलान्। तर म मलाई उपलब्ध संस्थागत ठाउॅंमै कुरा राख्छु, मौका पाएमा। यो मेरो कमजोरी होइन तर अराजकता मन पराउन्न।'
उनको यो टिप्पणीपछि एकनाथलाई सांसद बनाएकोबारे कृष्ण अंसुकले ट्विटरमै बास्कोटालाई घेर्ने कोसिस गरेका छन्।
'एमालेले एकनाथ ढकाललाई समानुपातिकतर्फ लैजानु एमालेका आमकर्याकर्ताको उपहास हो। उनी को हुन्?, र किन सांसद बनाइयो?', उनले बास्कोटालाई सोधेका छन्, 'यसको चित्तबुझ्दो जवाफ आमएमालेका कार्यकर्ता र मतदान गर्ने नागरिकलाई नेतृत्वले अनिवार्य स्पष्टीकरण दिनुपर्नेछ।'
त्यसपछि बास्कोटाले एमालेमा एकनाथको योगदान थाहा नभएको बताउँदै आफूले उनलाई नचिनेको जवाफ दिएका छन्।
'एकनाथको योगदान मलाई थहा छैन र म चिन्दिन पनि', उनले भनेका छन्, 'तर समानुपातिक सिस्टटम होइन, नेताहरुको तजबिज रहेछ, त्यो पक्का हो अब था भो।'
Shares
प्रतिक्रिया