ad ad

राजनीति


संसद सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैन : अध्यक्ष तिमिल्सिना

संसद सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैन : अध्यक्ष तिमिल्सिना

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १६:४०, काठमाडौँ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन्। 

संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाई बाहिर आएको हो।

संसद सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे।

अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराउनु भयो। देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरुलाई सम्बोधन गर्न जोड दिने उनले आश्वासन थियो।

अध्यक्ष तिमिल्सिनाले सांसदहरुको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताए।

उनले भने, ‘संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा बढाउने अहिले पनि कहीँ पनि ठाउँ छैन। अतिरिक्त काम गरेकोमा भत्ता दिऊ, अलिकति बढाऔं भन्यो भने जनता के भएका छन भन्ने आईराखेको अवस्था छ। देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षाहरु पनि पूरा हुने हुन। अन्यथा संसदमा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन गर्नका लागि, यसले राम्रो काम गर्नका लागि धेरै चिज छ। समितिको तर्फबाट बाहिर फिल्डमा जाँदा सांसदहरुलाई सुविधा बढाउनुपर्ने अवस्था छ। यस्तो स्थितिमा हामी अहिले छौं। त्यसकारण देशको आर्थिक विकास र समृद्धितिर जाँदा मात्रै यी कुारहरुलाई पनि जोड दिन सक्छौं।’

अध्यक्ष तिमिल्सिनाले संसदको कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याए। कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताए।

उनले संसद सचिवालयलाई स्वायत्त निकाय बनाएपनि त्यसले जनताको सार्वभौम निकायको रुपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गरे।

पूर्वसभामुख रानाभाटले भने, ‘संसद जहिले पनि कार्यकारिणी र कर्मचारीतन्त्रबाट डोमिनेट हुनुपर्ने अवस्थाबाट प्रजातन्त्रले अग्रगामी स्वरुप लिन सक्दैन। र, आफ्नो उद्देश्य हासिल गर्न सक्दैन भनेर हामीले छलफल सुरु गर्यौं। तितो अनुभवहरु छन। समितिमा यसलाई स्वायत्त निकाय बनाउनु पर्यो भनेर छलफल गर्दा मन्त्रीहरुसँग भएका तिता बहसहरु भएको थियो। त्यसबाट यसलाई स्वायत्त निकायको रुपमा विकास गर्न सकियो। यसमा मेरो पनि योगदान भएकोले गौरवको अनुभूति गर्दछु। यदि संसद कमजोर भईदियो भने मुलुक कमजोर भएर जान्छ। मलाई अन्यथा नलिनुहोला। २०४८ सालदेखि अहिलेसम्मको अनुभव हेर्दा हामी अझै परिपक्व प्रजातन्त्र हुन सकेका छैनौं। संसद कमजोर छ।’

पूर्वसभामुख रानाभाटले संसदलाई कमजोर हुन नदिए मात्रै मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था मजबुत भएर जाने स्मरण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .