राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने बताएका छन्।
सरकारले रेशम चौधरीलगायत व्यक्तिलाई जेलमुक्त गर्न ल्याएको अध्यादेशप्रति आपत्ति जनाउँदै केसीले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुने खतरा बढेको बताएका छन्।
वर्तमान कामचलाउ सरकारले रेशम चौधरीसमेतका व्यक्तिहरु, जो विभिन्न फौजदारी अपराधमा जेलसजाय भोगिरहेकालाई जेलमुक्त गर्नका लागि नै फौजदारी कार्यविधि संहितामा संशोधन गर्न खोजेको जनमोर्चाको ठहर छ।
‘रेशम चौधरीलगायतका अन्य अन्यायमा परेका कारण होइन, सरकार बनाउन बहुमत पुर्याउने उद्देश्यले नै रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट छ। आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने छ। राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुने खतरा बढ्ने छ’ अध्यक्ष केसीद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सरकार बनाउन बहुमत पुर्याउने उद्देश्यले दण्डहीतालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत छ । त्यो गलत निर्णयको हामीले घोर विरोध तथा भत्र्सना गर्दछौँ।’
Shares
प्रतिक्रिया