ad ad

राजनीति


गठबन्धन नफुटेसम्म एमाले सरकार बनाउने खेलमा लाग्दैन : विष्णु रिमाल

गठबन्धन नफुटेसम्म एमाले सरकार बनाउने खेलमा लाग्दैन : विष्णु रिमाल

फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०७९ बुधबार १२:३४, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन्। 

प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भए पनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको उनले बताए। 
संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली कांग्रेसले सोच्नुपर्ने उनले बताए। 

रिमालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने बताए। 

उपमहासचिव रिमालले समझदारीका रुपमा अघि नबढे मुलुकमा अस्थिरता हुने पनि बताए। 

उनले गठबन्धनका नेता र दलहरुले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताए।

‘राज्य सत्ता सञ्चालनमा समझदारी हुनुुपर्छ। प्रधानमन्त्री त अंकगणितले निर्देशित गर्छ। गठबन्धनको हिसावले तय हुन्छ। प्रधानमन्त्री बाहेक साझा पदहरुमा विपक्षी दलको समझदारी लिन आवश्यक छ। राष्ट्रपति भन्नुस्, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख र सभामुखहरु साझा भुमिका निर्वाह गर्ने महत्वपूर्ण अंग हुन्’, उनले न्यूज एजेन्सी नेपालसँग भने, ‘त्यसपछि संवैधानिक निकायका धेरै कुरा पनि आउँछन्। यी सबैमा कसरी समझदारीमा अघि बढ्ने भन्ने गठबन्धनका नेता र कांग्रेसले सोच्नुपर्छ। नसोचिए अंक गणितले निर्धारण गरिहाल्छ। हामी टिप्पणी गर्न सक्दैनौं। तर त्यसले ल्याउने असमझदारीले मुलुकमा अस्थिरता आउँछ।’

उपमहासचिव रिमालले नेकपा एमाले स्थिरताको पक्षमा रहेको भन्दै त्यसका लागि आवश्यक पहल गर्न तयार रहेको बताए। 

उनले कांग्रेस लगायतका दलहरुले पनि स्थिरताको पक्षमा सोच्नुपर्ने बताए। एमालेले अहिले नयाँ सरकार बनाउने कुरामा भन्दा गठबन्धनको भुमिकालाई नियालिरहेको उनले बताए। 

एउटा स्थितिमा पुगेर गठबन्धन टुट्ने दाबी गर्दै उनले गठबन्धन भत्किएपछि मात्रै नयाँ विकल्पको कुरा हुने बताए। 

गठबन्धन कायमै रहँदासम्म एमाले रचनात्मक विपक्षीको भुमिकामा रहने उनले बताए। विपक्षमा रहँदा सरकारमा नजाने दलहरुसँगको सहकार्य बढाउने र एजेण्डालाई व्यवस्थित गर्न लाग्ने उनको तर्क थियो। 

‘अहिले ध्यानपूर्वक गठबन्धनको भुमिकालाई नियालिरहेका छौं। गठबन्धन टुटछ, एउटा स्थिति आउँछ। फेरि विकल्पबारे छलफल होलान्’, उनले भने, ‘गठबन्धन कायमै रहँदा हामीसँग एउटै विकल्प कायम रहन्छ–रचनात्मक विपक्षको भुमिका निर्वाह गर्ने। त्यसका लागि सरकारमा नजाने दलहरुसँग राम्रो सहकार्य गर्छ र एमालेले एजेण्डालाई व्यवस्थित गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .