ad ad

राजनीति


सूर्य थापाको तर्क : प्रचण्डले बालकोटको बार्दली टेकिसकेपछि पुराना कुरा सबै सकिए

सूर्य थापाको तर्क : प्रचण्डले बालकोटको बार्दली टेकिसकेपछि पुराना कुरा सबै सकिए

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०७९ मंगलबार १५:९, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्नु सही भएको बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले यस्तो बताएका हुन्। 'दुइटा पार्टी मिल्नै पर्थ्यो। दुईबाहेक अरु पार्टी पनि मिलेर ७६ २ अनुसार सरकार बनेको छ। विभिन्न स्वरुपमा पुगेका पार्टीहरु मिलेका छन्। अब बहुमतको दाबी प्रस्तुत भएर यो सरकार पाएको छ', उनले भने, 'धेरै पार्टी मिलेरभन्दा पनि दुइटा पार्टी मिलेर बन्नुपर्थ्यो। नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको भए राम्रो हुन्थ्यो।'

उनले निर्वाचन परिणाम आइसकेपछि प्युठानबाटै आफूले सरकार निर्माणमा माओवादीले सबै विकल्प खुल्ला राख्ने निर्णयलाई गुरिल्ला ट्याक्टिस भनेको बताए। 

'त्यो पूर्वमा हल्ला गरेर पश्चिममा हमला गर्ने माओवादीको गुरिल्ला ट्याक्टिस थियो। तर प्रचण्डले त्यसबेला म मरेँ पनि म ओ‌लीले बोलाउँदा प्रधानमन्त्री हुन्न भनेका थिए। मरे पनि हुन्न ज्यान गए पनि जान्न भनेका थिएँ', उनले भने, 'मैले बुटवलमा नेकपा एमालेले प्रचण्डलाई गठबन्धनमा रहुन्जेल सघाउँदैनौँ भनेको थिएँ। मैले त्यसबेला नोट अफ डिसेन्ट नै लेख्छु भनेको थिएँ। प्रचण्डजी मरे आउँदिन भनेका बेला मैले बनाउँछु भन्छु त।'

उनले एमाले र माओवादी मिल्न लाग्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले हेक्का नराखेको बताए।  

'एमाले र माओवादी मिल्ने दिशातिर जाँदा पनि चितवनका गैँडालाई काउकुती लाग्यो होला तर हाम्रा कुराले शेरबहादुर देउवालाई छोएन', उनले भने, 'प्रचण्ड र मबीच व्यक्तिगत झगडा थिएन र छैन। प्रचण्डले हाम्रो अध्यक्षलाई चार ठाउँबाट निकाल्नुभएकै हो। खाली खुट्टा चप्पल पनि लाउन नदिइ बालकोटबाट पठाएर बार्दलीबाट बोल्न लगाउने पनि भनेकै हो।'

तर अहिले प्रचण्ड आफैंले बालकोटको बार्दली टेकेपछि पुराना कुरा फच्चे भएको उनले बताए। 'प्रचण्ड आफैं बालकोटको बार्दलीमा पुगेर अभिवादन गरेपछि अब पुराना कुरा सबै सकिए, फच्चे भयो', उनले भने, 'पुरानो लयमा फर्किएर बालकोट पुगेर सहमति गरेपछि अब सबै कुरा मिल्यो।' 

उनले मंसिर २९ गते बुटवलमा बोलेको कुरा भाइरल गर्नुको अर्थ नरहेको पनि बताए। 'उहाँले मलाई पार्टीबाट निकालेकै हो', उनले भने, 'तर अब म ३० दिनपछि उहाँलाई विश्वासको मत दिन्छु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .