ad ad

राजनीति


पेले र मेस्सीको नाम लिँदै कांग्रेसलाई ओलीको कटाक्ष : राजनीतिमा पनि फउल खेले रेडकार्ड पाएर आउट हुन्छ

पेले र मेस्सीको नाम लिँदै कांग्रेसलाई ओलीको कटाक्ष : राजनीतिमा पनि फउल खेले रेडकार्ड पाएर आउट हुन्छ

एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस १७, २०७९ आइतबार १७:४१, काठमाडौँ

प्रमुख सत्तारुक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटबलमा जस्तै राजनीतिमा फउल खेलेमा त्यो गलत हुने बताएका छन्। 

मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ‌‌ओलीले यसो भनेका हुन्।

ओलीले ब्राजिलियन लेजेन्ड फुटबलर पेले र अर्जेन्टिनाका विश्वविजेता लियोनेल मेस्सीको नाम लिँदै राम्रो खेल्नेले कहिले फउल नगर्न पनि तर्क गरेका छन्। 

'मेस्सीले प्राय फउल गर्दै गर्दैन। उसलई न एलोकार्ड न रातोकार्ड देखाउनुपर्छ। राम्रो खेलाडीले बल खेलाउँछ अनि गोल गर्छ', उनले भने, 'मेस्सी होस् या एम्बाप्पे होस् या रोनाल्डो होस्। जो राम्ररी खेल्छ उसले फल खेल्दैन, गोल गर्छ, टिमलाई जिताउँछ।'

उनले फउल खेलेमा एल्लो कार्ड र रातोकार्ड पाएर आउट हुने पनि तर्क गरे। उनले सम्बोधनका क्रममा राम्रो खेलाडीले पोष्टमै गोल हान्ने तर नराम्रो खेलाडीले अर्काको खुट्टा हान्ने पनि उल्लेख गरे। 

‘राम्रो खेलाडी फउल खेल्दैन। फउल खेल्ने खेलाडी उत्कृष्ट हुन सक्दैन,’ उनले भने, 'उसले गोल पनि गर्न सक्दैन।'

ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर बढेकैले ब्राजिलियन लेजेन्ड पेले पेले विश्वका लोकप्रिय फुटबलर भएको बताए। 

'त्यसबाट सिकेर नेपाली खेलाडीहरुले पनि आफूलाई अगाडि बढाउनुपर्छ', उनले भने, 'फुटबलमा जस्तै व्यवहारिक जीवन, सामाजिक र आर्थिक लेनदेनमा पनि फउल खेल्नु हुँदैन।' 

ओलीले सम्बोधनका क्रममा नेपाली कांग्रेसलाई पनि कटाक्ष गरे। ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। कहीँ फउल खेल्नु हुँदैन', उनले भने, 'फउल खेल्यो भने एल्लोकार्ड त  कहिले रेडकार्ड नै दिएर आउट भइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .