ad ad

राजनीति


राजेन्द्र महतो भन्छन् : रेशम चौधरीलाई रिहा गरे सरकारमा जान्छौँ

राजेन्द्र महतो भन्छन् : रेशम चौधरीलाई रिहा गरे सरकारमा जान्छौँ

सागर न्यौपाने
पुस ९, २०७६ बुधबार १३:३२,

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीले राजपासँग एकताका लागि सरकार नछोडेको बताएका छन्। आफूहरुले पटक–पटक सरकार छाडेर एकतामा आउन आग्रह गर्दा पनि सरकार नछोडेको समाजवादी पार्टीले ढिलै भए पनि सरकारबाट बाहिरिनुलाई उनले सकारात्मक कदम भएकाे बताए।

समाजवादी पार्टीको सत्ता बहिर्गन राजपाको सत्तामा सहभागितासँग सम्बन्धित नरहेको जनाउँदै आफूहरुले उठाएका माग पुरा नभई सरकारमा नजाने दाबी गरे। समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सदन र सडक आन्दोलन चर्काउने चेतावनी दिइरहेका बेला राजपा भने सरकारमा सहभागी हुने विषयमा अहिले नै निर्णय नभएको बताए।

यसै विषयमा राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसँग नेपालखबरले गरेको संक्षिप्त वार्ताः

समाजवादीले सरकार छोड्यो, अब एकता प्रक्रिया अघि बढ्ला नी?
पहिलो कुरा, उहाँहरु हाम्रो मागअनुसार आएको हो र? राजपासँग एकता गर्नका लागि सरकार छोडेको होइन। उहाँहरुको सरकारबाट बहिर्गमन एकताका लागि पनि होइन। हामीले धेरै पहिलादेखि भन्दै आएका हौं– एकताका लागि पहिलो शर्त नै सरकार छोड्नुपर्छ भनेर। तर, मान्दै मान्नुभएन। ढिलै भएपनि समाजवादीले सरकार छोड्यो, ठीकै छ। देशमा बैकल्पिक शक्ति चाहिन्छ। दोस्रो कुुरा, समाजवादी र हाम्रा बीचमा एकता गर्ने सवालमा धेरै कुरा यसअघि नै मिलिसकेका छन्।

के–के कुरा मिलेका छन्?
नाम, चिन्ह, झण्डा लगायतका विषयमा हामी सहमत भइसकेका छौं।

नाम के राख्ने भन्ने सहमति भएको छ?
समाजवादी र राजपा दुबैको मिलाएर नाम राख्ने भन्ने सहमति भएको थियो। तर, बीचमा उहाँहरुसँग कुरै हुन पाएन।

अनि मिल्न वाँकी विषय के–के हुन् ?
मुख्य कुुुरा नेतृत्वको विषय नै टुंगो लागेको छैन। विगतमै नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया रोकिएको थियो। हाम्रो र उहाँहरुको बराबर हैसियत हो। सोही आधारमा नेतृत्व टुंगो लगाउन खोजेको हो, तर मिलेन। हामीले जनजाति क्लष्टर (समूह)का आधारमा बनाऊँ भनेको उहाँहरु सहमत हुनुभएको थिएन। नेतृत्वको अधिकार, पार्टी सञ्चालन गर्ने नेता तथा कार्यकर्ता पङ्ति, केन्द्रीय पदाधिकारीका विषयमा पनि कुरा मिलेको थिएन।

मन्त्री पदबाट राजिनामा दिएपछि उपेन्द्र यादवसँग सम्पर्क भएको छ?
छैन। उहाँ पनि सरकारमा व्यस्त हुनुहुन्थ्यो नी। बल्ल त उपेन्द्रजीले फुर्सद पाउनुभयो। अब एकताका लागि प्रक्रिया अघि बढ्ला। उहाँहरुले सरकार छोड्ने निर्णयलाई हामीले सकारात्मक रुपमा लिएका छौं।

अब त तपाईंहरु सरकारमा जाने होला?
राष्ट्रियसभामा जाने सिट संख्याका विषयमा छलफल गर्न मात्रै प्रधानमन्त्री, नेकपा अध्यक्ष प्रचण्डजीसँग भेट भएको हो। त्यसपछि केही कुरा पनि भएको छैन। सरकारमा जाने, सहभागी हुने कुरा भएको छैन। अहिले नै जाने कुरा हुन पनि सक्तैन। राजपाका माग/मुद्दा पूरा नभई सरकारमा राजपा जाला भन्नु कल्पना मात्रै हो। हाम्रो माग र मुद्दा पूरा नभई जाँदैनौं। तर, सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनायो भने, वार्ता चै हुनसक्छ। हाम्रो मागका विषयमा सरकार गम्भीर भएर लाग्यो भने हुन्छ। हाम्रो जोड र पहिलो माग, मुद्दा फिर्ता हो। त्यो सम्बोधन नभए संघर्षको बाटो अघि बढाउँछौं।

के विषय लिएर संघर्ष गर्ने?
संविधान संशोधन गर्ने प्रतिबद्धता, सांसद रेशम चौधरीको रिहाई र हाम्रा नेता कार्यकर्तालाई लगाइएको झुठा मुद्दा फिर्ता हुनुपर्छ नत्र संघर्ष नै गर्ने त हो नी।

सरकारले रेशम चौधरीको रिहाई गछौं सरकारमा आउनुस् भन्यो भने जाने कि नजाने?
तपाईँ सरकारी प्रतिनिधि हो? यस्ता कुराहरु, तर्कहरु खडा गरेर हुन्छ? हाम्रा सबै माग पूरा गर्नुपर्याे। सबै पूरा गरेपछि मात्रै कसरी अघि बढ्ने भनेर निर्णय गछौं। अहिले नै हामी एउटा अपुरो माग पूरा गर्ने वा आश्वासन देखाउँदैमा सरकारमा जाँदैनौं।

अनि तपाईँहरुलाई सरकारका तर्फबाट प्रस्ताव पनि आएको होइन त?
आएका थिए, कुराहरु भएका पनि थिए। कुरा मिलेन, हामी सरकारमा गएनौं । अहिले सरकारमा जाने कुरा प्राथमिक होइन, मुख्य कुरा संविधान संशोधनको हो। हाम्रो सांसद जेलमा हुनुहुन्छ। हाम्रो थुप्रै कार्यकर्तामाथि सरकारी मुद्दा छ, त्यसैले कुरा नमिलेकाे हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .