ad ad

राजनीति


शर्मालाई उपराष्ट्रपति बन्न प्रचण्ड-ओलीकै थियो प्रस्ताव, तर उनले मानिनन्

शर्मालाई उपराष्ट्रपति बन्न प्रचण्ड-ओलीकै थियो प्रस्ताव, तर उनले मानिनन्

नेपालखबर
पुस २१, २०७९ बिहिबार १७:३४, काठमाडौँ

शपथ खाएर सरकारी निवास बालुवाटार सरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीनपटक छलफल भयो।

आफ्नै समर्थनमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सफल भएका ओली १३ पुसमा पहिलो भेटका लागि उनकै निवास खुमलटार पुगेका थिए। त्यसपछिका भेटहरु बालुवाटारमा भए। 

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच १४ पुसमा बालुवाटारमा छलफल भयो। त्यसदिन सत्ता गठबन्धनको बैठक पनि बसेको थियो। 

त्यसपछि प्रचण्ड–ओली निरन्तर संवादमै छन्। सरकारलाई पूर्णता, प्रदेश प्रमुख र मुख्यमन्त्री चयन, प्रधानमन्त्रीलाई विश्वासको मत लगायतका विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको छ।

१३ र १४ पुसमा प्रचण्ड–ओलीबीच एमालेका महासचिव शंकर पोखरेललाई संसदमा ल्याउने विषयमा छलफल भयो। 

स्रोतका अनुसार– ‘अन्य विषय पनि थिए तर, अलि गम्भीर छलफल त्यसमै केन्द्रित थियो।’

त्यसका लागि सजिलो थिएन। एक त पराजित, दोस्रो एमालेको महासचिव हाइ प्रोफाइल। विभिन्न विकल्प र उपाय खोजी गर्न दुवै लाग्ने समझदारी बनाए।

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित माओवादी स्थायी समिति सदस्य रेखा शर्मासँग हारेपछि पोखरेलको संसद छिर्ने योजना पूरा भएको थिएन।

एमाले–माओवादीबीच मुख्यगरी गठबन्धन बनाउन भूमिका खेलेका पोखरेललाई संसदमा ल्याउने अर्काे बाटो छैन।ल्याउनै परे कुनै सांसदलाई संसद बन्नु नपर्ने पदीय जिम्मेवारीमा लगेर सो क्षेत्र खाली गर्ने अनि उपनिर्वाचन गरेर जिताएर ल्याउने विकल्प मात्र छ।

गठबन्धन भएकोले जहाँबाट उठेपनि चुनाव जित्न कठिन नहुने विश्लेषण थियो। तर, पोखरेल अन्य क्षेत्रमा जान तयार छैनन्।

२०७४ मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएर दाङमा राजधानी बनाएका पोखरेल कर्मथलो त्यही बनाउने चाहन्छन्।

दाङको क्षेत्र नम्बर १ मा एमालेबाट विद्रोह गरी जन्मिएको नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले जितेका छन्। ३ मा कांग्रेसका दीपक गिरीले जितेका छन्। 

आफूलाई सफल बनाउन निरन्तर लागिपरेका पोखरेललाई संसदमा ल्याउनैपर्ने दबाब महसुस गरेका एमाले अध्यक्ष ओली उनकै रोजेको क्षेत्र दिलाउने योजनामा लाग्न थाले। 

त्यसको पहिलो प्रयास पोखरेल पराजित भएको क्षेत्र नम्बर २ मै उपनिर्वाचन गराउन पहल थाल्ने समझदारी बन्यो। १९ पुसमा प्रधानमन्त्री प्रचण्ड– ओलीबीच यसबारे कुरा भयो।

प्रधानमन्त्री प्रचण्डले बोलाएर उनलाई भने, ‘उपराष्ट्रपति बन्नु न त। अलिकति गठबन्धनको कुरा पनि मिलाउनुछ’

अध्यक्ष ओलीले पनि उपराष्ट्रपति बन्न सुझाव दिए। 

प्रधानमन्त्री र एमाले अध्यक्षले आफूलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको उनले आफू निकटका केही नेताहरुलाई पनि सुनाइन्। तर, आफूले त्यो प्रस्ताव नमानेको उनको भनाई छ।

पहिलो पटक प्रत्यक्ष चुनाव जितेको, संगठनमा राम्रो प्रभाव राख्ने प्रयास गरिरहेको र माओवादीको विरासत जोगाएकोले सांसद त्याग्ने पद मान्न तयार भइनन्।

‘मलाई माथिल्लो तहबाट सम्मानित पदमा जाने प्रस्ताव आएको हो,’ उनले भनिन्, मैले मान्ने कुरै थिएन। जितेर आएको, प्रतिस्पर्धा गरेर जितेको पद त्याग्न मलाई नैतिकताले दिएन। मतदाताको अपमान गर्न सकिन भनेँ।’

पोखरेललाई संसदमा ल्याउने अझै प्रयास भइरहेकै छ। प्रचण्ड नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्री बन्ने लिष्टमा शर्माको पनि नाम छ।

यसअघि माओवादीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जितेको दाङ २ मा आफूले फरक रुपमा काम गर्ने योजना बनाएको शर्मा बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .