ad ad

राजनीति


पूर्वएमालेलाई सभामुख नदिन प्रचण्डमाथि चर्को दबाब

पूर्वएमालेलाई सभामुख नदिन प्रचण्डमाथि चर्को दबाब

सागर न्यौपाने
पुस १०, २०७६ बिहिबार ९:१०,

सभामुख चयन प्रक्रिया सुरु हुन लाग्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन्। सभामुख पद छोड्न नहुने भन्दै पूर्व पूर्वमाओवादी समूहका केही नेताहरुले उनीमाथि दबाब बढाएका हुन्।

प्रचण्डले कुनैपनि बेला सभामुखको अडान छाड्ने खतरा देखेर दबाब बढाइएको उनी निकट एक नेताले बताए।

मंसिर २९ गतेदेखि एक हप्ता चलेको पार्टीको स्थायी समिति बैठकमा सभामुखबारे छलफलको एजेन्डा नै नराखिएपछि पूर्वमाओवादी नेताहरु असन्तुष्ट छन्।

माओवादी केन्द्रबाट सभामुख बनेका कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएपछि सो पद झण्डै तीन महिनादेखि रिक्त छ।

पार्टी एकता गर्दा तत्कालीन एमालेलाई प्रधानमन्त्री, राष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष र माओवादी केन्द्रलाई सभामुख पदको भागबण्डा गरिएको थियो।

पार्टी एकता अझै बाँकी भएको र नेताहरुको जिम्मेवारी समेत नतोकिएको अवस्थामा शक्ति सन्तुलनका लागि पनि सभामुखमा पूर्वमाओवादी समूहले नै पाउनुपर्ने आग्रह गरिएको स्थायी समिति सदस्य मणि थापाले बताए।

तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच वार्ताबाट यसको टुंगो लगाइने सम्भावना देखेपछि आफूहरुले कुनैपनि शर्तमा सभामुख छोड्न नहुनेमा जोड दिएको अर्का स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए।

‘पूर्वसहमतिकै आधारमा हाम्रो तर्फबाट महराजी सभामुख बन्नुभएको हो, उहाँको पद रिक्त भएपछि उहाँको ठाउँमा कसलाई पठाउने प्रचण्डले निर्णय गर्ने हो, यसमा अरुले दाबी गर्नु र रहर गर्नुको कुनै अर्थ छैन,’ उनले भने।

हिउँदे अधिवेशन सुरु भएपछि प्रचण्ड निवास खुमलटारमा सभामुखको विषयलाई लिएर दैनिक ५-७ जना नेताहरु पुग्ने गरेका छन्। ‘उनीहरु सबैको जोड सभामुख कुनै हालतमा छोड्नु हुँदैमा भन्ने छ,’ स्रोतले भन्यो, ‘प्रचण्डले ओलीसँग सहमति गरिहाल्ने खतरा देखेर उनीहरुले खुमलटारमा उपस्थिति बाक्लो बनाएका हुन्।’

ओली र प्रचण्डबीच पार्टी एकता गर्दा सत्ताको नेतृत्व ओलीले र पार्टीको जिम्मेवारी प्रचण्डले गर्नेगरी सहमति बनेको थियो।

तर, प्रचण्डलाई लामो समय पार्टीभित्र कुनै जिम्मेवारी दिइएको थिएन। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रेपछि र उनले पार्टी एकताको कामलाई तीव्रता दिन नसकेपछि मंसिर ४ गते प्रधानमन्त्री ओली र प्रचण्डबीच प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष र ओली पाँचै वर्ष प्रधानमन्त्री बन्ने सहमति भएकाे थियाे।

पुरानो सहमतिबाट तलमाथि गर्न नहुने स्थायी समिति सदस्य देव गुरुङको भनाइ छ।

‘विगतमा समझदारी गर्दा एकताको भावलाई मिलाएर लैजाने विषयबारे नेताहरु जानकार हुनुहुन्छ, यसमा परिवर्तन गर्नुहुन्न,’ उनले भने।

पूर्वमाओवादी समूहबाट सभामुखकाे उमेदवारकाे रूपमा अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङको नाम चर्चामा रहेको नेताहरु बताउँछन्।

संसदको हिउँदे अधिवेशन पुस ४ गतेदेखि सुरु भएको छ। प्रतिनिधिसभाको अर्काे बैठक शुक्रबार डाकिएको छ। शुक्रबार बिहानसम्म सभामुखबारे टुंगो लगाउने तयारी छ।

उपसभामुखले राजीनामा नदिँदा समस्या
स्थायी समिति सदस्य देव गुरुङ उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजिनामा नदिएका कारण नेकपाले सभामुखमा दाबीनै गर्न नपाएको गुनासो गर्छन्।

‘अहिले त संवैधानिक आधारमा नेकपाले सभामुख पदमा दाबी नै गर्न मिल्दैन, किनकि संविधानमा सभामुख र उपसभामुख छुट्टाछुट्टै राजनीतिक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ,’ उनले थपे, ‘सोही कारण उपसभामुखको राजीनामा नआई सभामुखमा उम्मेदवारी नै दिन नपाउने कानुनी र संवैधानिक व्यवस्था छ।’

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुखले सञ्चालन गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .