बागमती प्रदेश सभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठक विजयी भएका छन्।
नेपाली कांग्रेसका शिवराज अधिकारी, नेपाल किसान मजदुर पार्टीका सृजना सायजुसँगको प्रतिस्पर्धामा पाठकले बाजी मारे।
सभामुखमा निर्वाचित भएका पाठकलाई ४ राजनीतिक दलको समर्थन रह्यो। नेकपा एमालेको २७, माओवादीको २०, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको २ सहित पाठकले ६२ मत प्राप्त गरे।
विजयी भएपछि पाठकले राजनीतिभन्दा माथि रहेर सभामुखको भूमिका निर्वाह गर्ने बताए। ७० सांसदकै मत पाउने विश्वास लिएका पाठकको पक्षमा एकीकृत समाजवादीको ७ मत खसेन।
बागमतीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार बनाउन समर्थन गरेको समाजादीले सभामुखमा सघाएन।
बागमती प्रदेश सरकारको समर्थनमा ५ राजनीतिक दल छन्। तर, मुख्यमन्त्री चयन गर्दा हस्ताक्षर गरेका समाजवादीका सांसदहरु सभामुखको निर्वाचनमा तथस्ट बसे।
सरकार बनाउँदा एउटा र सभामुख चुन्दा अर्को भूमिका खेलेपछि समाजवादीबारे प्रश्न उठेको छ। यसबारे स्पष्टीकरण दिँदै प्रदेश सभा सदस्य कृष्णप्रसाद शर्मा खनालले सरकार र सदन फरक हुने भएकाले तथस्ट बसेको बताए।
‘सरकार र सदन फरक हुन्, सदनमा सभामुखका लागि हामीले राप्रपाका उम्मेदवारको पक्षमा मत दिन आवश्यक ठानेनौँ,’ खनालले नेपालखबरसँग भने।
ऐन कानुन बनाउने ठाउँमा सहमतिबाट अघि बढ्नुपर्ने तर्क गर्दै उनले त्यसो नभएपछि तटस्थ बसेको तर्क गरे। सहमति प्रयास नगरी एकैपटक प्रर्तिस्पर्धामा जाने कुरा भएपछि त्यसमा असहमति जनाउँदै कसैलाई मत नहालेको उनको भनाइ थियो।
उता सरकारलाई विश्वासको मत दिन तयार कांग्रेसले सभामुख पदमा बार्गेनिङ गरेको थियो। तर उसका उम्मेदवारले ३६ मत मात्रै ल्याए।
प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेस अहिले प्रमुख प्रतिपक्षमा छ। ३७ सिट रहेको कांग्रेसले अधिकारीलाई सभामुखमा उठाएको थियो।
कांग्रेसले आफ्नोबाहेक १ मत पनि पाएन। सत्ता गठबन्धनले साथ नदिएपछि माघ ३ गते सरकारलाई विश्वासको मत नदिने निष्कर्षमा आफूहरु पुगेको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बताए।
‘हामी प्रतिपक्षका रुपमा भूमिका खेल्छौं । यो लोकतान्त्रिक पद्धति हो,’ उनले भने, ‘कांग्रेसले कहिले पनि सत्ताको मोह गरेको छैन। हामी जनताप्रति उत्तरदायी छौं। सभामुखको निर्वाचनपछि त झनै सरकारलाई विश्वासको मत दिन सक्ने अवस्था छैन।’
Shares
प्रतिक्रिया