ad ad

राजनीति


कांग्रेसले हैसियत गुमाइसक्यो, नेमकिपालाई प्रमुख प्रतिपक्ष घोषणा गर्नू : प्रेम सुवाल

कांग्रेसले हैसियत गुमाइसक्यो, नेमकिपालाई प्रमुख प्रतिपक्ष घोषणा गर्नू : प्रेम सुवाल

संसद बैठकमा बोल्दै नेमकिपा सांसद प्रेम सुवाल। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १२:२७, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गरेका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने तर्कसमेत गरे। 

सांसद सुवालले सरकारलाई समर्थन गर्ने दल नेपाली कांग्रेस कानुनी हिसावले र विज्ञहरुको सुझावको आधारमा पनि प्रमुख प्रतिपक्ष दल बन्न नमिल्ने भएकाले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गरेर मात्रै प्रतिनिधिसभा बैठकलाई अघि बढाउनुपर्ने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरे। 

उनले कानुनी, व्यवहारिक र राजनीतिक रुपले नेपाली कांग्रेस विपक्ष दल हुन नसक्ने कुरा एमाले अध्यक्ष केपी ओलीलेसमेत अभिव्यक्ति दिएकाले पनि उसलाई विपक्ष दल मान्न नमिल्ने जिकीर गरे। 

‘विपक्षी दलले प्रधानमन्त्री वा सरकारको विरोध गर्नु संसदीय प्रजातन्त्रको गहना हो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७३ को दफा २ को महल ४ मा मन्त्रीपरिषद गठन गर्न वा मन्त्रीपरिषद गठन गर्न समर्थन गर्ने दलबाहेकका प्रतिनिधिसभा वा राष्ट्रियसभामा १० प्रतिशत वा त्यस भन्दा बढी सदस्यहरुको कुनै पनि दल नभएमा प्रतिनिधिसभा वा राष्ट्रियसभाका लागि सभामुख वा अध्यक्षले प्रमुख प्रतिपक्ष दल तोकिदिने व्यवस्था छ', उनले भने, 'गत पुस २६ गते प्रधानमन्त्रीजीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो राजनीतिक दल नेपाल मजदुर किसान पार्टी नै भएको हुँदा कानुनी व्यवस्था अनुसार प्रमुख विपक्ष दल हामी हो। राजनीतिक विश्लेषक सुन्दरमणि दीक्षित, प्राध्यापक लोकराज बराल, वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यलगायतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस प्रमुख विपक्षी दल नहुने आम सञ्चारमा बताउनु भएको हामी सबैलाई विदितै छ।'

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते यही बैठकमा नेका विपक्ष दल नभएको, सरकारको सहयोगी दल भएको बताएको पनि स्मरण गरे।

माघ ३ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको विश्वासको मत दिने दलहरुको बैठकमा एमाले अध्यक्ष ओलीजीले कांग्रेसलाई कानुन, व्यवहार र राजनीतिक रुपमा प्रमुख प्रतिपक्षको हैसियत नभएको बताएको पनि बताउ। 

संघीय कानुन बमोजिम प्रतिनिधिसभाको बैठक विपक्ष दल तोकेर मात्रै चालु गर्नुपर्ने उनको तर्क छ। 

'सत्तापक्षसँग राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुख पदको साझेदारी गर्ने दल प्रमुख प्रतिपक्ष दल हुन सक्दैन। बलायतमा सुरु भएको पश्चिमी शैलीको संसदीय व्यवस्था भारत हुँदै नेपाल भित्र्याइएको हो', उनले भने, 'प्रधानमन्त्रीजीलाई विश्वासको मत दिने नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको कुर्सी छोडन नचाहने हो भने नेपालमा पश्चिमी शैलीको संसदीय व्यवस्था समाप्त भयो। र, पूर्वी शैलीको राजनीतिक प्रणाली अवलम्बन गरिएको घोषणा यो संसदबाट गर्न जरुरी छ।'

सांसद सुवालले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल मान्ने हो भने संघीय संसदले नेपालमा पश्चिमी शैलीको संसदीय व्यवस्था समाप्त भयो भनेर घोषणा गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .