उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकबाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न गाह्रो भएको बताएका छन्।
ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखी काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मी र क्रसर उद्योगबारे निर्णय लिन ढिलाइ भएको बताए।
अब उनले केही दिनभित्रै नतिजा आउने गरी काम हुने बताए। त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो।
उनले राज्यका संयन्त्रहरुलाई हिजो चलायजस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालय अन्तरगतको आधा समस्या आफैँ हल भएर जाने अवस्थामा रहेको पनि बताए।
‘राज्यका संयन्त्रहरुलाई थिलथिलो बनाएर छाडिएको छ। काम गर्नेहरुलाई कानुन पालना गराउनुभन्दा पनि आदेश पालना गराउने गरी यति निरिह बनाएर राखिएको छ। वर्षौँ शासनसत्ता सम्हालेका दलहरुबाट जसले यसलाई थिलथिलो बनाइयो। जसबाट त्यसरी थिलथिलो बनाउन, कमजोर बनाउने काम भए', उनले भने, 'त्यही कोणबाट धेरै प्रश्नहरु आउने रहेछन्। यो मैले अनुभव गरेको छु। तर म त्यसको प्रतिउत्तर होइन, काम, रिजल्ट र परिणामका माध्यामबाट ती जवाफहरु गरिमामय संसदमा आफैं उपस्थित हुन भन्ने चाहना राखेर काम गर्न चाहन्छु। नेपाली जनताले ठूलो आशा, विश्वास र भरोसा राखेर तपाईँ हामीलाई निर्वाचित गराएर पठाएका छन्।'
उनले राज्य संरचनाहरुमा सुधार चाहिएको बताए। तिनको सुधारका लागि निरन्तर लागिरहेको उनको भनाइ थियो। 'विशेष गरेर मैले सम्हालिरहेको गृह मन्त्रालय प्रणाली सुधारमा, मापदण्डहरु निर्माणमा निरन्तर लागि रहेको छ। यसले परिणाम देखाउन चाँडै नै सुरु गर्नेछ। म एउटा, दुईटा विषयलाई लिएर मात्रै टिप्पणी वा त्यसको जवाफ दिन गइरहेको छैन', उनले भने, 'राज्य संयन्त्रहरुलाई हिजो चलाए जस्तो चलाउन छोडिदिनुहोस्। आधा काम हाम्रो सहज हुनेछ। आज सिडिओ आफ्नो चाहिएको छ। डीएसपी आफ्नो चाहिएको छ। एसपी आफ्नो चाहिएको छ', उनले भने, 'सबै आफ्नो चाहिएको छ। यसैगरी तपाईँहरुलाई राज्यको आफ्नो निकायहरुमा मानिसहरु चाहिएको हो भने प्रणाली सुधारमा तपाईंहरुको योगदान के? यसअर्थमा तपाईंहरुले गृह प्रशासनले अब गर्न लागेको प्रणालीलाई विश्वास गर्नुपर्नेछ।'
प्रणाली सुधार गर्न सकेमा आधा काम सकिने उनले बताए। 'आम नागरिकले महसुस गर्नेछन्। चाहे ती क्रसरका विषयमा होस्, चाहे फरार सांसदका विषयमा हुन्। चाहे आन्दोलनरत अधिकारीकर्मीहरुका कुरा हुन्। गृह मन्त्रालय अन्यन्त संवेदनशील भएर सबै विषयहरुमा काम गरिरहेको छ', उनले भने, 'नतिजा किन समय लाग्ने भएको छ भने राज्यका संयन्त्रहरुलाई चलाइएको छ। गिज्याइएको छ। त्यसलाई ट्रयाक भन्दा बाहिर राखिएको छ।'
उनले यो सदनमा छोडखानी गर्ने, एक अर्कालाई होच्याउने, एकअर्कालाई तल पार्ने हिजोदेखि खाटा पनि बसिसकेका घाउहरुलाई कोट्याउने काम आफूले नगर्ने उनले बताए।
कतर म नतिजा अवश्यक दिन्छु। म यहाँहरुलाई निर्धक्क हुन अनुरोध गर्न चाहन्छु। कहिलेकाँही आम नागरिकलाई जानकारी दिने शिलशिलामा केही खवरहरु भन्नुपर्ने अवस्था आउन सक्ला। त्यसलाई त्यसै रुपमा बुझिदिन आग्रह गर्दछु। ’
उपप्रधानमन्त्री लामिछानेले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गरे।
संसदमा एकले अर्कालाई होच्याउनेजस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उनले बताए।
Shares
प्रतिक्रिया