नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा ल्याउन माग गरेका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी संदद बैठकको शून्य समयमा बोल्दै उनले विधेयक संसदमा ल्याउन माग गरेका हुन्।
‘सम्पत्ति शुद्घिकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई हालसम्म संसदमा नल्याउनु गम्भीर विषय हो,’ पौडेलले भने, ‘हिजो यो विषयमा अध्यादेश बनाएर पेश गरियो, सम्माननीय राष्ट्रपतिबाट जारी भएन।’
उनले घुमाउरो बाटोबाट अस्थायी समाधान खोजेर मात्रै नपुग्ने जिकिर गर्दै भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायत विषयका लागि कडा कानुन बनाएर उचित मार्ग खोज्नु पर्नेमा जोड दिए।
‘यो आज पुनः जेड ट्रयाकबाट अस्थायी समाधान खोजेर मात्र पुग्दैन। भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायतका विषयमा कडा कानुन निर्माण गरेर राइट ट्रयाक खोजियोस्,’ पौडेलले भने।
उनले गत पुस १ गते एफएटीएफको टोली नेपालको स्थलगत मूल्यांकन गरेर फर्किएको र उसको मूल्यांकनले कानुन नबनाए नेपाल ‘ग्रे जोन’ को सूचीमा पर्ने देखाएको पनि स्मरण गराए।
‘एफएटीएफले तोकेका मापदण्डहरु पूरा गर्न नसक्दा कतिपय ठूला देशहरु आर्थिक विषयको अन्तराष्ट्रिय सञ्जालबाट बाहिरिएका छन्,’ पौडेलले भने, ‘जसको कारण आर्थिक जेड २ प्रणालीमा ती देशहरुले ठूलो संकट सामना गरिरहेका छन् भने हाम्रो जस्तो रेमिट्यान्समा निर्भर देश ग्रे जोनमा परेर अन्तराष्ट्रिय वित्तीय प्रणालीबाट दण्डित र बञ्चित हुन पुग्यो भने हाम्रो सिंगो अर्थतन्त्र धरासायी हुन पुग्छ।’
Shares
प्रतिक्रिया