विवेकशील साझा पार्टीले आफ्नो पहिलो महाधिवेशन माघ २७ गतेदेखि काठमाडौंमा गर्दैछ।
पार्टीका नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएसँगै महाधिवेशनको प्रक्रिया शुरु भएको पार्टीले जनाएको छ।
पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि विवेकशील साझा विवादको भूमरीमा परेको थियो। अहिले उनी राप्रपामा समाहित भएसँगै विवेकशीलले पहिलो महाधिवेशन गर्न लागेको हो।
सो पार्टीको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल, र विवेकशील साझाका पूर्वनेता गोविन्द नारायण लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशन दुई दिनसम्म काठमाडौंमा सञ्चालन हुनेछ।
महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्व र नीतिगत स्पष्टता दिने बताइएको छ।
पार्टीका नेता मिलन पाण्डेले पार्टीको पहिलो महाधिवेशनले विवेकशील साझालाई गम्भीर र अनुभवसहितको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने दाबी गरे।
Shares
प्रतिक्रिया