नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन्।
आइतबार दिउँसो पेरिसडाँडामा माओवादी बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका दाहालले उक्त कुरा बताएका हुन्।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अबका दुई महिना कार्यकर्ता र जनतामाझ व्यापक अन्तरक्रिया गरिने बताए।
'पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ', उनले भने, 'अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ। २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं।'
उनले २ महिने अभियानले पार्टी, जनता र कार्यकर्ताको आकांक्षाको पहिचान हुने पनि बताए।
'अहिले बेला भएको छैन, २ महिने अभियानले हाम्रो अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान हुन्छ', उनले भने, 'त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौँ।'
उनले अहिले आफूहरुका लागि चुनौती र अवसर दुवै आएको पनि बताएका छन्।
'हामीले सरकारको नेतृत्व गरिरहेका छौँ, यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो', दाहालले भने, 'यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौँ। सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ। सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो। तपाईहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला।'
उनले गत पुस २६ गते कांग्रेसको समते विश्वासको मत पाएपछि अवस्था फेरिएको पनि बताएका छन्।
'विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ। विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो', उनले भने, 'सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ। हामीले राष्ट्रिय एकताका निम्ति पहल गर्नुपर्छ। त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु।'
Shares
प्रतिक्रिया