नेकपा एमालेले ४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लक्षित गर्दै ८ साउन २०७९ मा कास्कीको पोखराबाट अभियान सुरु गरेको थियो। त्यसबेला चुनाव आउन जम्मा पाँच महिना मात्र बाँकी थियो।
तर, एमाले यसपटक चुनावलगत्तै आगामी निर्वाचनको तयारीमा जुटेको छ। चुनावपछि अर्को चुनाव घोषणा हुन्जेल चुपचाप बस्ने नजिर तोड्दै एमाले निर्वाचन सकिएको दुई महिना नबित्दै फेरि कार्यकर्तासम्म पुग्न थालेको छ।
एमालेले प्रत्येक वडाबाट पार्टीलाई खसेको समानुपातिक मत हिसाब गरेर आफ्ना नेताहरुलाई पालिका र वडा तहसम्म खटाएको छ। एमालेले ७७ जिल्ला, ७५३ पालिका र ७ प्रदेशमा प्राप्त सबै मत विश्लेषण गरेको छ।
जुनसुकै बेला पनि चुनावका लागि तयार रहनेगरी एमाले वडा तहसम्म पुग्न लागेको हो। सुरुमा फागुन र चैतका लागि दुई महिने अभियान तय भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभातर्फको चुनावको अन्तिम नतिजा २१ मंसिरमा आएको थियो। चुनावी परिणामपछि एमाले फरक रणनीति बनाउनुपर्ने निष्कर्षमा पुगेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
‘संगठन व्यवस्थापन तलैसम्म चुस्त भएन र कमजोर भयो,’ प्रदेश १ की अभियान इन्चार्ज समेत रहेकी शाक्यले नेपालखबरसँग भनिन्, ‘विचार, विधि बनाएर जनताको बीचमा जानुपर्यो, मुख्यगरी पार्टी कमिटी चलायमान गराउनुपर्यो।’
उनका अनुसार अभियानमा पालिकासम्म खट्नेहरुलाई वैचारिक प्रशिक्षण दिएर वडासम्म पठाउने काम हुन्छ।
एमालेले आफ्नो सदस्य समेत व्यवस्थित नभएको ठहर गरेको छ।
‘संगठन अस्वस्थ छ, सिद्धान्त, विचार नीति प्रभावकारी छैन, छलफल भएन, अनुशासन भएन, पार्टी जीवित भएन,’ उपाध्यक्ष शाक्यले थपिन्।
चुनावमा अपेक्षाकृत सफलता नपाएपछि पार्टीभित्रको समस्या पहिचान गरी समाधान गर्नेगरी ‘ग्रासरुट अभियान’ चलाउन लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
‘साढे ८ लाख सक्रिय सदस्य भएको हाम्रो पार्टीले जनताका समस्या समाधान गर्नुपर्छ, अहिले केही प्रदेशको नेतृत्व लिएको र केन्द्र सरकारमा पनि भएकाले पार्टीको कार्यक्रम लागू गराउन अभियान थालेका हौँ,’ रिजालले भने।
अध्यक्ष केपी शर्मा ओलीले ५ फागुनमा अभियानको थालनी जुममार्फत् देशैभरका नेता÷कार्यकर्तालाई सम्बोधन गरेर गर्दैछन्।
एक पदाधिकारीले यसलाई चुनावी तयारी अन्तर्गत भएको बताए।
‘हामी अब अर्काे निर्वाचनको तयारीमा जुटिसकेका छौँ,’ ती नेताले नेपालखबरसँग भने, ‘पार्टी थकाइ मार्दैन।’
‘चुनावको मिति घोषणा गरेपछि मात्र कार्यकर्ता लिएर जनताकोमा जाने हिजोको परम्परा करेक्सन गर्ने प्रयास गरेका हौँ,’ ती नेताले थपे, ‘अन्तिम क्षणमा जाँदा जनताको न्यूनतम समस्या समाधान गर्न सकिँदैन, जसकारण जनतामा (मतदाता) आवेग र आक्रोश बढ्न थाल्यो।’
पार्टी गठन गरेको ६ महिनामै संसदमा चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति (रास्वपा) मानिसको आकर्षण बढ्नुमा पार्टी गतिविधि नहुनु नै मुख्य कारण भएको एमालेको ठहर छ।
ग्रासरुट अभियानको समापन ७ वैशाख २०८० मा हुनेछ। त्यो, नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको दिन हो। एमालेले २६ माघमा केन्द्रीय सचिवालय बैठकबाट यससम्बन्धी निर्णय गरेको छ।
अभियानको नेतृत्व सातै प्रदेशमा पार्टीका सचिवहरुले गर्दैछन्। अभियानका लागि ४ फागुनभित्र सबै नेताहरु प्रदेश र जिल्ला खटिइसकेका छन्।
अभियानको अनुगमन गर्ने जिम्मा उपाध्यक्षहरुलाई दिइएको छ।
एमालेले सरकारमा रहेका मन्त्री र सांसदबाहेक अन्य नेताहरुलाई इन्गेज गर्न पनि २ महिने अभियान चलाउन लागेको हो।
‘एमालेलाई एकताबद्ध र बलियो बनाउनुपर्ने हाम्रो चुनौती छ,’ एक पदाधिकारी भन्छन्, ‘एमालेकै सदस्य पार्टीप्रति जिम्मेवार भएनन्, पार्टी निर्देशन पालना नगर्ने भए।’
‘यदि संगठनमा ध्यान नदिने हो भने पार्टी बलियो हुँदैन, झन् खस्किने खतरा हुन्छ,’ ती नेताले थपे, ‘पछिल्लो राजनीतिक परिस्थितिले थुप्रै चुनौती संकेत गरेको छ।’
पार्टी उपाध्यक्ष सुवास नेम्वाङले चुनावका विभिन्न अनुभवलाई ध्यानमा राखी सदस्यता व्यवस्थित र सदृढीकरण बनाउन अभियान चलाइएको बताए।
‘पार्टीभित्र हार्दिकता बढाउन, चुनावको बेला भएका विभिन्न प्रवृत्तिको मसिनो ढंगले विश्लेषण गर्न चाहेका हौँ,’ नेम्वाङले भने, ‘यसमा कतिपय साथीहरुको असन्तुष्टि हल गर्ने काम पनि हुन्छ। मुख्यगरी प्रशिक्षण दिने हो।’
नेकपा माओवादी केन्द्रले २१ माघमै दुई महिने अभियान चलाउनेगरी २६ माघदेखि नेताहरुलाई फिल्डमा पठाइसकेको छ।
माओवादीले फागुन र चैत महिनामा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको दुई हप्तापछि एमालेले पनि अभियान चलाउन लागेको हो।
यस्तै एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि फागुनदेखि जेठसम्मलाई स्थानीय तहमै केन्द्रित गरेको छ।
दुई प्रतिस्पर्धी पार्टीहरु संगठन बनाउन सक्रिय भएपछि एमाले पनि ग्रासरुट अभियान लिएर कार्यकर्तासम्म पुग्न लागेको हो।
Shares
प्रतिक्रिया