प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार साँझ बसेको आठ दलीय गठबन्धनको बैठकमा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम पनि सहभागी छन्।
उनी रञ्जिता चौधरी श्रेष्ठ सभापति रहेको नागरिक उन्मुक्ति पार्टीकोतर्फबाट आठ दलको बैठकमा बालुवाटार पुगेर सहभागी भएकी हुन्।
उनी अध्यक्ष चौधरीसँगै आठ दलको बैठकमा बालुवाटार छिरेकी हुन्। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी छन्।
त्यसैगरी माओवादी महासचिव देव गुरुङ, लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी र जनमत पार्टीका सांसद अब्दुल खान पनि सहभागी भएका छन्।
नेपाली कांग्रेसनिकटका पत्रकार धमलाकी पत्नी एलिजा एक महिनाअघि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिमा प्रवेश गरेकी थिइन्।
पुस १० मा नेकपा एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनमा नागरिक उन्मुक्ति पनि सहभागी थियो।
तर उसले शुक्रबार नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आफूलाई आवद्ध गराएको छ।
मोडल तथा कलाकारसमेत रहेकी गौतम गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।
रुपन्देहीमा भएको एक कार्यक्रममा उनी नागरिक उन्मुक्तिमा प्रवेश गरेकी थिइन्। उनलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका थिए।
नागरिक उन्मुक्तिले लिएको विचार र नागरिक सेवाको भावनाबाट प्रभावित भएर आफू प्रवेश गरेको गौतम बताएकी थिइन्।
Shares
प्रतिक्रिया