ad ad

राजनीति


कीर्तिपुरमा हारेपछि फेरिए प्रचण्ड, गिरिजा शैलीमा चितवन आउजाउ

कीर्तिपुरमा हारेपछि फेरिए प्रचण्ड, गिरिजा शैलीमा चितवन आउजाउ

सागर न्यौपाने
पुस १६, २०७६ बुधबार ९:३९,

पुस ९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर नेपाल जेसिसको राष्ट्रिय अधिवेशन उद्घाटन गरे। १० गते सौराहामा हात्ती महोत्सव उद्घाटन गरे। 

तीन दिन चितवनमा बिताएपछि ११ गते काठमाडौं फर्किएका उनी १३ गते नै सर्वशान्ति मावि, कुरिनटारको स्वर्ण महोत्सव उद्घाटन गर्न चितवन फर्के।

त्यो दिन महत्वपूर्ण दुई विषयबारे निर्णय गर्न नेकपाको सचिवालय बैठक राखिएको थियो। सभामुखको उम्मेदवार टुंगो लगाउने र अमेरिकी सरकारको आर्थिक सहयोग (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गराउनेबारे सचिवालयले निर्णय गर्ने अपेक्षा गरिएको थियो।

तर, बैठक बीचमै स्थगित गरेर प्रचण्ड विद्यालयको कार्यक्रम उद्घाटनमा चितवन गए। 

प्रचण्डले आफ्नो जिल्लाका सानातिना कार्यक्रमलाई पनि कति महत्व दिएका छन्, यसैबाट प्रस्ट हुन्छ। चितवनमा उनले ठूलो बजेट मात्रै विनियोजन गराएका छैनन्, उपस्थिति पनि बाक्लो बनाएका छन्।

पुसको दुई हप्तामा प्रचण्ड तीनपटक चितवन पुगिसकेका छन्। १९ गते पनि उनलाई नै प्रमुख अतिथि बनाउने कार्यक्रम तय भएको छ। चितवनमा हुने सकेसम्म सबै कार्यक्रममा प्रचण्डले आफ्नो उपस्थिति देखाउँदै आएका छन्।

Prachanda8

उनको निर्वाचन क्षेत्र र गृहजिल्ला समेत रहेको चितवनका हरेक कार्यक्रममा उनको विशेष रुची र प्राथमिकता बन्ने गरेकाे छ। कतिपयमा भने उनी निमन्त्रणा अस्वीकार गर्न नसकेर पनि चितवन पुग्ने गरेका छन्।

उनको निर्वाचन क्षेत्र चितवन–३ हो। आफ्नो निर्वाचन क्षेत्रका सबैको घरमा पुग्ने योजनासहित प्रचण्डले जिल्लाको भ्रमणलाई नियमित बनाएका छन्। भरतपुर महागनरपालिकाको १९ वटा र माडी नगरपालिकाको ९ वटा वडा उनको निर्वाचन क्षेत्रमा पर्छन्।

विकास निर्माणको भौतिक प्रगति बुझ्नेदेखि त्यहाँ पुगेर जनतासँग अन्तरक्रिया गर्नमा उनले चासो दिएका छन्। त्यसैका लागि पछिल्ला दिनमा उनको चितवन आउजाउ बाक्लिएको उनको निर्वाचन क्षेत्रकी स्वकीय सचिव निशा न्यौपानेले बताइन्।

२०७४ मंसिर १४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट चुनाव जितेपछि प्रचण्डले चितवनमा आफ्नो उपस्थिति बढाएको न्यौपानेले बताइन्।

दुईवर्षको अवधिमा प्रचण्ड कम्तीमा ५२ पटक चितवन पुगिसकेका छन्। चितवनमा क्रियाशील पत्रकार प्रकाश ज्ञवालीका अनुसार प्रचण्ड केही समययता प्रायः हप्तैपिच्छे चितवन पुगिरहेका छन्।

एमालेसँग २०७५ साल जेठ ३ गते पार्टी एकता गरेर नेकपा बनाएपछि प्रचण्ड देशभरको अवस्था बुझ्न सबै जिल्लाका कार्यक्रममा पुगे। त्यसमध्ये केही प्रशिक्षणात्मक कार्यक्रम थिए। देश दौडाहमा रहेका बेला पनि प्रचण्डले चितवन पुग्ने कामलाई निरन्तरता दिइरहे।

पूर्वप्रधानमन्त्री भएका कारण चितवनका निर्वाचन क्षेत्रमा मात्रै उनको कार्यक्रम पर्दैन। उनी अन्य कार्यक्रममा पनि सहभागी हुन्छन्। तर, निर्वाचन क्षेत्रमा आयोजना हुने कार्यक्रममा प्रचण्डले सकभर उपस्थिति जनाउने गरेको न्याैपानेले जानकारी दिइन्।

Prachanda4

अनि प्रचण्डले फेरे रणनीति
सशस्त्र विद्रोहबाट शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा प्रवेश गरेका प्रचण्डले ३ पटक चुनाव लडेका छन्। पहिलोपटक संविधानसभाका लागि भएको निर्वाचनमा रोल्पा र काठमाडौं १० बाट चुनाव जितेका उनले दोस्रो संविधानसभाको निर्वाचनमा भने सिरहा र काठमाडौं १० (कीर्तिपुर क्षेत्र) बाट चुनाव लडेका थिए।

तर, काठमाडौंमा उनले पराजय भोगे। सिरहामा पनि उनलाई जिताइएको आरोप लाग्ने गरेको छ।

पुरानो कम्युनिस्ट गढ मानिने कीर्तिपुरमा प्रचण्डको पराजयबारे धेरै विश्लेषण भए। जितेपछि निर्वाचन क्षेत्र नजानु हारको मुख्य कारण रहेको प्रचण्डको सचिवालयले निष्कर्ष निकाल्यो। संसदीय राजनीतिमा जनता, मतदाता र निर्वाचन क्षेत्रमा नेता वा सांसदको उपस्थितिलाई स्थानीय मतदाताले महत्वका साथ नियालिरहेका हुन्छन्।

चुनाव जितेपछि कीर्तिपुरमा एकपटक पनि नगएको झोँक जनताले निर्वाचनमा पोखे। सोही कारण प्रचण्ड हारे।

त्यसपछि २०७४ सालको चुनावमा आफ्नो स्थायी निर्वाचन क्षेत्र बनाउने योजनासहित प्रचण्डले चितवन क्षेत्र नम्बर ३ रोजे।

कास्कीमा जन्मेर बाल्यकालमै चितवन झरेका प्रचण्ड हुर्किएको ठाउँ पनि चितवन नै हो। भरतपुर महानगरपालिका वार्ड नम्बर १४, शिवनगरका स्थायी बासिन्दा हुन् उनी। त्यहाँ उनको १४ कठ्ठा जग्गा पनि छ। घर भने छैन।

जब चितवनबाट प्रचण्डले चुनाव जिते, त्यसपछि भने आफ्नो निर्वाचन क्षेत्रमा उपस्थिति ह्वात्तै बढाए। आफ्नो क्षेत्रमा महिनाको एकपटक पुग्नैपर्ने कार्यतालिका बनाएका प्रचण्ड प्रायः हप्तामै निर्वाचन क्षेत्र पुग्ने गरेका छन्।

धेरैतिरबाट स्थानान्तरण भएका उनले अब चितवनलाई चाहिँ आफ्नो बलियो पकड सहितको स्थायी आधारक्षेत्र नै बनाउन खोजेको देखिन्छ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल निर्वाचन क्षेत्रमा अस्थीर रहेका प्रचण्डले चितवनलाई स्थिर क्षेत्र बनाउन खोजेको बताउँछन्। संसदीय राजनीति गर्ने नेताहरुलाई आफ्नो एउटा स्थायी क्षेत्र आवश्यक पर्ने भएकाले पछिल्लो दिन प्रचण्डले चितवनलाई त्यसैगरी विकास गर्न खोजेको देखिन्छ। एउटा निश्चित निर्वाचन क्षेत्र हुँदा सजिलो हुन्छ,’ उनले भने।

प्राध्यापक पोखरेलले संसदीय राजनीतिमा दोहोर्‍याएर चुनाव जित्न पनि आफ्नै स्थायी किसिमको क्षेत्र चाहिने कुरा प्रचण्डले महसुस गरेको र चितवनमा सक्रियता बढाएको देखिएको बताए।

Prachanda5

विकास निर्माणमा तीव्रता
प्रचण्डले निर्वाचन क्षेत्र र जिल्लाको विकासका लागि प्राथमिकता दिएको विषय सडक हो। सडक सुविधा पुगेपछि अन्य विकास निर्माणको बाटो खुल्ने भएकोले उनले दुई वर्षदेखिको बजेट सडक निर्माण, कालोपत्रमा केन्द्रित गराएका छन्।

आफ्नै निर्वाचन क्षेत्रमा धुलोरहित सडक बनाउने गरी काम भइरहेको र यी सबै कामको उनी आफैँ स्थलगत अवलोकनका लागि पनि चितवन पुग्ने गरेको उनको सचिवालय बताउँछ।

निर्वाचन क्षेत्रकी स्वकीय सचिव निशा न्यौपाने भन्छिन, ‘चुनावको बेला मात्रै आउँछ, अरु बेला आउँदैन भन्ने आरोप अन्त्य गर्न सानादेखि ठूला सबै कार्यक्रममा प्रचण्डले बजेट विनियोजन गराउनुभएको छ।’

योजना निर्माण र बजेट विनियोजनमा जिल्लाका सबै क्षेत्रलाई समान अवसर दिएको उनले दाबी गरिन्। ‘अध्यक्षले निर्देशन नै दिनुभएको छ, सबै क्षेत्रमा बजेट समान रुपमा विनियोजन होस्,’ उनले भनिन्।

अहिले भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने सबै स्थानको रुप फेरिएको पत्रकार प्रकाश ज्ञवाली बताउँछन्। ‘२०२६ सालदेखिका २५० किलोमिटर पुराना बाटा पक्की भएका छन्। हरित ‘करिडोर’ बनाउने योजनासहित भरतपुर महानगर परिक्रमा गर्न मिल्नेगरी नारायणीको किनारैकिनार १०५ किलोमिटर सडक बनाउने तयारी भएको छ,’ उनले नेपालखबरसँग भने।

माडीका मुख्य सडकमा १३ वटा पक्कीपुल निर्माण भइसकेको छ भने हुलाकी सडकमा कालोपत्रे काम जारी छ। माडीको कल्याणपुर, वसन्तपुर, अयोध्यापुरी र बरुवा क्षेत्रलाई विकास गर्ने प्रचण्डले योजना बनाएका छन्।

प्रचण्डले जिल्लामा ठूलो मात्रामा बजेट विनियोजन गराएका छन्। संघीय सरकार, ३ नम्बर प्रदेश सरकार र महानगरपालिका सबैतिरबाट प्राथमिकताका साथ बजेट छुट्याइएको छ।

Prachanda9

काेइराला शैलीमा प्रचण्डको चितवन बसाइ
कुनै समय गिरिजाप्रसाद कोइरालाले नयाँ निर्णय वा रणनीति तय गर्नुपर्याे भने सकेसम्म विराटनगरको आफ्नो घरमै पुग्थे। महत्वपूर्ण निर्णयहरु कोइराला सोही घरबाट सार्वजनिक गर्थे।

त्यही शैली अनुसरण गर्दै प्रचण्डले पनि चितवनमा आफ्नो राजनीतिक र सामाजिक गतिविधि बढाएका छन्।

भरतपुर महानगरपालिको वडा नम्बर १० क्षेत्रपुरस्थित मेयर तथा छोरी रेणु दाहालको निवासमा प्रचण्ड बास बस्छन्। त्यहीँ स्थानीय नेता र आफ्ना निर्वाचन क्षेत्रका मानिस आउँदा भेटघाट गर्ने उनको अलग्गै कोठा पनि छ। 

त्यहीँ उनले सबै भेटघाट तथा छलफल गर्ने गरेको नेकपाका प्रदेश ३ कमिटीका अध्यक्ष नारायण दाहाल बताउँछन्।

कहिलेकाहीँ प्रचण्ड होटलमा पनि बस्छन्।

गाउँकै शैली
चितवन पुग्दा आफ्ना पुराना साथीहरुसँग भेट गर्न, उनीहरुसँग विगतका कुरा गर्न मन लाग्ने  प्रचण्डले बताउने गरेका छन्। उनी आफ्ना सबै साथीहरुसँग भेट गर्न जान्छन्। कति उनलाई खोज्दै आउँछन्। उनीहरुसँग बसेर भुटेको मकै भटमास र खाना खाने इच्छा प्रचण्डले देखाउने गरेकाे सचिवालयका सदस्य बताउँछन्। 

उनी गाउँले जीवनमा रहेकै जस्तो व्यवहार पनि झल्को दिन खोज्छन्।

खाना खाँदा साग र गुन्द्रुक खोज्ने र घरमा बस्दा उनी अनौपचारिक पहिरनमै रहने गरेकाे ती सदस्यले बताए।

जहाजभन्दा मिलेसम्म गाडी चढ्छन्
प्रचण्ड प्राय बास बस्नेगरी नै चितवन जान रुचाउँछन्। त्यहाँ पुगेपछि उनी आफू हुर्किएको शिवनगरसम्म पुग्न मन गर्छन्। भरतपुर महानगरपालिका वडा नम्बर १४ मा पर्ने शिवनगर महानगरपालिका रहेको भरतपुरबाट ८ किलोमिटर पश्चिममा पर्छ।

त्यहाँ उनको पुर्ख्याैली जग्गा जमिन रहेकोले उनले पटक पटक हेर्न जान खोज्छन्। उनको त्यहाँ एउटा घर बनाउने इच्छा रहेको स्वकीय सचिव न्यौपानेले बताइन्।

गाडीबाट जाँदा भनेका साथीहरु भेट्न सजिलो हुनाले सकभर प्रचण्ड गाडीबाटै चितवन जान रुचाउँछन्। ‘एकैदिन कार्यक्रम सकाएर फर्कन उहाँ गाह्रो मान्नुहुन्छ,’ न्यौपानेले नेपालखबरसँग भनिन्।

प्रधानमन्त्री ओलीले झापा निर्वाचन क्षेत्रमा ठूला विकासका कार्यक्रम केन्द्रित गरेर आफ्नो पकड बलियो बनाएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो गृहजिल्ला डडेलधुराबाट २०४८ सालयता निरन्तर निर्वाचन जितिरहेका छन्। चारपटक प्रधानमन्त्री भइसकेका देउवाले गृहजिल्लामा विकासका कार्यक्रम केन्द्रित गरेर आफ्नो पकड कायम गर्न सफल भएको बताइन्छ।

सशस्त्र विद्रोहबाट आएर दुईवटा निर्वाचन लडिसकेका र दुईपटक संसदबाट प्रधानमन्त्री बनेका प्रचण्डले अब संसदीय प्रतिस्पर्धाका लागि एउटा भरपर्दो निर्वाचन क्षेत्रको विकास गर्न लागेको प्रष्टै देखिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .