नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति निर्वाचन ८ दलीय गठबन्धनको मुख्य मिलन बिन्दु रहेको बताएका छन्।
तत्कालिन पाँच दलबीच गएको संघ र प्रदेश निर्वाचनमा गठबन्धन गरेर जाने सहमतिलाई फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन मार्फत थप विकसित गरेर लैजान मद्वत पुग्ने उनले बताए।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गराउन प्रदेश सभा सदस्यका लागि आज विराटनगरमा आयोजित अभिमुखीकरण कार्यकममा बोल्दै शर्माले अबको राष्ट्रपतिले आफ्नो पदको गरिमालाई जोगाई राख्नुपर्ने धारणा राखे। त्यसका निम्ति पनि सही व्यक्ति छनोट गर्न आवश्यक रहेकोले राष्ट्रपतिको पदलाई दलहरुले धेरै महत्व दिनुपरेको उनको भनाई थियो।
राष्ट्रपति पद सेरोमोनियल भएपनि गएको पाँच वर्षको कालखण्डमा व्यक्तिका कारण आलोचित बनेको शर्माले बताए।
रामचन्द्र पौडेल निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र कोशी प्रदेशको आयोजनामा भएको अभिमुखीकरण कार्यकममा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीमा आवद्व प्रदेश सभा सदस्यहरुको सहभागिता रहेको थियो।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ।
Shares
प्रतिक्रिया