लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी जस्ता सिनियर नेताहरुलाई उछिनेर ५ बर्षअघिको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को तर्फबाट प्रधानमन्त्री पदको प्रत्यासी बने, नरेन्द्र मोदी। भाजपा अध्यक्ष अमित शाहलाई साथ लिएर मोदीले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक (गठबन्धन) लाई बहुमत दिलाए।
आडवाणी, जोशी लगायतका भाजपा नेताहरु अहिले पनि जीवितै छन्। बृद्ध छन्, तर राजनीतिक–सामाजिक रुपमा सक्रिय नै छन्। मोदी प्रधानमन्त्री र शाह भाजपा अध्यक्ष बनेपनि बरिष्ठ नेताहरुबाट उनीहरुप्रति पुरानो पुस्ताका नेताहरुले कहिल्यै प्रश्न उठाएनन्, सार्वजनिक रुपमा असन्तुष्टि पनि व्यक्त गरेनन्।
कारण थियो, भाजपामा दोस्रो पुस्ताका मोदी–शाहले पुराना शीर्ष नेताहरुलाई दिएको सम्मान। कुनै ठूलो सफलता हात पार्दा मोदी र शाह आडवाणी लगायतका नेताहरुलाई भेट्छन्, आशिर्वाद लिन्छन्। लोकसभाको गत निर्वाचनमा विजय हासिल गरेपछि निवासमै पुगेर नमन गर्दै गरेको तस्वीर सार्वजनिक भएको थियो।
ठूला राजनीतिक दलभित्र जिम्मेवारी र पदका आकांक्षीहरुको समूह ठूलो हुन्छ। तर, दिन सकिने महत्वपूर्ण जिम्मेवारी चाहिँ निकै कम हुन्छन्। शीर्ष राजकीय पदहरु जस्तैः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री जस्ता पदहरु एक–एक वटा हुन्छन्। तर, निर्वाचनमा विजय हासिल गरेका दलमा यी महत्वपूर्ण पदका आकांक्षी धेरै देखिन्छन्।
आकांक्षीहरु उमेरले बरिष्ठ र पुराना पुस्ताका नेताहरु हुनु स्वभाविक हो। संघर्षमय इतिहास र त्यागको उदाहरण पेश गर्दै पुरानो पुस्ताले पनि पार्टीले सफलता प्राप्त गरेका बेला आफूले जिम्मेवारी पाउनुपर्ने र इतिहासको सम्मान गर्नुपर्ने माग गर्छ। शिक्षा, क्षमता, योग्यता आदि तर्क पेश गर्दै नयाँ पुस्ताले पनि नेतृत्वको दावी गर्छ।
एउटा उक्ति छ, ‘फलोअरहरुलाई कहिल्यै थाहा हुँदैन कि, उनीहरु जुन बाटोमा हिँडिरहेका छन्, त्यो बाटो निर्माण गर्न नेतालाई कति संघर्ष गर्नुपरेको थियो!’ कठिन समयमा संघर्षमार्फत् पार्टी जोगाएर ल्याएकाले सफलताको बेला शीर्ष नेतृत्वका लागि पुरानो पुस्ताले आकांक्षा राख्नु, दावी गर्नु स्वभाविक पनि हो।
भारतमा नरेन्द्र मोदी र अमित शाहको जोडीले यही गरिरहेको छ। आडवाणी लगायतका शीर्ष र पुराना नेताहरुलाई पर्याप्त सम्मान दिएको छ। अनि, राजनीतिको रथ अगाडि बढाउन नयाँ पुस्तालाई पर्याप्त जिम्मेवारी दिँदै आएको छ। पुराना नेताहरुले सम्मान पाएको भाजपाको रथलाई दोस्रो र तेस्रो पुस्ताका नेताहरुले सहजरुपमा अघि बढाइरहेका छन्।
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा नेतृत्वमा सभापतिको प्रत्यासी बन्ने योजनामा रहेका कांग्रेस नेता डा शेखर कोइरालाले पनि मोदी–शाहको ‘पुरानो पुस्तालाई सम्मान नयाँ पुस्तालाई जिम्मेवारी दिने’ कार्यशैली अपनाउने योजना बनाएका छन्। यसको अभ्यासपनि सुरु गरेका छन्।
पुरानो पुस्तालाई सम्मान दिनु भनेको मोदीले जस्तै आडवाणीको निवास पुगेर ढोग्नुमात्रै पनि होइन। पुराना पुस्ताले गरेको संघर्षको इतिहासको स्मरण र त्यसको सम्मान गर्नुपनि सम्मानको अर्काे स्वरुप हो। किनभने, पुरानो पुस्ताले गरेको संघर्ष र निर्माण गरेको इतिहासको जगमा नयाँ पुस्ता उभिएको हुन्छ।
रुपन्देहीको सुरजपुरा कांग्रेसको इतिहासका लागि त्यस्तै एउटा महत्वपूर्ण स्थल हो, जहाँ २०४० मा पञ्चायत समर्थकहरुको आक्रमणमा परी कांग्रेस नेता गिरिजाप्रसाद कोइराला झण्डै मारिएका थिए। सो आक्रमणमा कांग्रेसका जिल्ला नेता यादवनाथ आलोक त मारिए नै। आक्रमणमा परेर कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको ओठ काटिएको थियो।
इतिहास बोकेको त्यही सुरजपुरामा २८ जेठमा डा कोइराला पुगे, घटना भएको घरका धनी पुष्पानन्द गिरिका परिवारजनसँग भेटघाट गरे। सभापतिमा प्रतिस्पर्धाको पूर्व तयारीको सिलसिलामा प्रदेश–५ का जिल्लाहरुको दौडाहामा रहेका डा कोइराला पूर्व पश्चिम राजमार्गभन्दा धेरै टाढा (दक्षिण) तर्फको सुरजपुरा पुगेका थिए।
इतिहासको मात्र होइन, इतिहास बोकेका, तर ओझेल परेका पुराना पुस्ताका नेताहरुलाई पनि डा कोइरालाले समय मिलाएर भेटिरहेका छन्। कम्युनिष्टहरुप्रति आक्रामक भएपनि जिल्ला जाँदा समय मिलाएर पुराना वामपन्थी नेताहरुसँग पनि उनले भेट गरिरहेको उनको फेसबुक पेज हेर्दा देखिन्छ।
असार पहिलो हप्ता उनी काभ्रे पुगेका थिए। काभ्रेका चर्चित वामपन्थी नेता मानिन्छन्, गोविन्दनाथ उप्रेती। ०३८ को निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनले सदनबाटै दरवारविरुद्ध आगो ओकलेका थिए। ०४८ र ०५१ मा तत्कालिन एमालेबाट प्रतिनिधि सभामा निर्वाचित भएका उप्रेती अहिले गुमनाम छन्।
काभ्रे पुगेका बेला १९ असारका दिन डा कोइराला जिल्ला सभापति मधु आचार्य लगायतका साथ उप्रेतीको भुम्लुस्थित निवासमै पुगे। उनीसँग भलाकुसरी गरे। लगत्तै डा कोइरालाको सचिवालयले उप्रेतीको बिछ्यौनामा बसेर खिचिएको तस्वीर फेसबुकपेजमार्फत् सार्वजनिक गर्यो। तस्वीरका साथ पोष्ट गरिएको स्टाटसमा भनिएको छ, ‘कोइरालाले भेटेर निस्कनु भएपछि उप्रेती भावबिह्ल बन्नुभयो।’
राष्ट्रिय पञ्चायतबाटै दरवारविरुद्ध आगो ओकलेका उप्रेतीको जेलमा राधाकृष्ण मैनाली, केपी ओली लगायतका नेताहरुसँग संगत भयो, त्यही संगतका कारण वामपन्थी बनेका उनी जनयुद्धकालमा माओवादीको समर्थक भए। एमाले–माओवादी केन्द्रबीच एकता भएको छ, तर यी ऐतिहासिक पात्र विस्मृतिमा छन्।
तर काभ्रे पुगेका बेला डा कोइरालाले सम्झे। र, गाउँमा रहेको उनको घरमै पुगेर भलाकुसरी गरे। र, उनलाई स्मरणमा ल्याउने प्रयास गरे।
त्यसभन्दा अघिल्लो दिन उनले बनेपाका पूर्व मेयर (०४९ र ०५४ को स्थानीय निर्वाचन) गोपालदास बादे श्रेष्ठलाई भेटेका थिए। श्रेष्ठ बनेपा नगरपालिकाका पूर्व मेयर मात्र होइनन्, २००७ को क्रान्तिका सक्रिय योद्धापनि हुन्। राजधानी बाहिर कांग्रेसको जनमुक्ति सेनाले जताततै कब्जा गरेपनि राजधानीभित्र केही गर्न नसकिरहेका बेला राणा शासन विरुद्ध उनी बम–बारुद बोकेर राजधानी छिरेका थिए।
‘पुरानो पुस्तालाई सम्मान दिने कुरा उहाँले मोदी–अमित शाहको गतिविधिबाट सिक्नु भएको हो’ डा कोइराला निकट कांग्रेसका एक नेताले भने, ‘महाधिवेशन केन्द्रित गरेर त्यसलाई व्यवहारमा उतार्ने काम उहाँले यतिबेला गरिरहनु भएको छ।’
कुनै नेताले कांग्रेसको सभापति दावी गर्नु भनेको प्रधानमन्त्रीका लागि आफ्नो स्थान सुरक्षित बनाउनु पनि हो। देउवा यसपटक पनि सभापतिको प्रत्यासी पक्कै बन्नेछन्। अर्काे खेमाबाट डा कोइरालाले सभापति–प्रत्यासीको दावी गर्दा बरिष्ठ नेता रामचन्द्र पौडेलले चित्त नदुखाउलान्? वा पौडेलको व्यवस्थापन कसरी गर्लान्? यो प्रश्न स्वभाविक रुपमा उठिहाल्छ, किनभने पौडेलले अहिलेपनि सभापति र प्रधानमन्त्री बन्ने चाहना त्यागेका छैनन्।
सभापतिमा विजयी र त्यसपछिको आम निर्वाचनमा नेपाली कांग्रेसले जित्यो भने प्रष्ट छ, प्रधानमन्त्री डा कोइराला नै बन्नेछन्।
यस्तो स्थितिमा बरिष्ठ नेता पौडेललाई राष्ट्रपति बनाउने गरी अहिले सभापतिका लागि उनको समर्थन लिने उनको योजना छ। ‘पौडेलले देउवासँग प्रतिस्पर्धा गर्न सक्नुहुन्न भन्ने प्रष्ट भइसकेको छ’ डा कोइराला निकट कांग्रेसका एक नेता भन्छन्, ‘तत्कालका लागि पौडेललाई उचित सम्मान दिने र पार्टीले निर्वाचनमा विजय हासिल गरेको खण्डमा राष्ट्रपति बनाउने डा कोइरालाको योजनामा डा कोइराला हुनुहुन्छ।’
रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने योजना पेश गरेर पुरानो पुस्ताको विश्वास जित्ने योजनामा रहेका उनले नयाँ पुस्तालाई ‘कन्फिडेन्स’ मा लिने प्रयास पनि थालिसकेका छन्।
बीपी कोइराला, गणेशमान सिँह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता अग्ला व्यक्तित्वका धनी नेताहरुको निधनपछि कांग्रेसभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरु शीर्ष स्थानमा छन्। ७३ बर्षको इतिहास बोकेको नेपाली कांग्रेसका लागि यो दोस्रो पुस्ता हो। तर, यसलाई अहिले ‘बर्तमानको पहिलो पुस्ता’ भन्दा फरक पर्दैन। किनभने, बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाका समवयीहरु अहिले कांग्रेसको नेतृत्वमा छैनन्।
देउवा, पौडेल लगायतलाई कांग्रेसको ‘वर्तमानको पहिलो पुस्ता’ का नेता मान्ने हो भने डा शेखर, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, अर्जुननरसिँह केसी लगायतका नेताहरु दोस्रो पुस्ताका नेतामा दरिन्छन्, जो प्रौढ अवस्था पार गरेर नेपालको सन्दर्भमा ‘जेष्ठ नागरिक’ बन्ने क्रममा छन्।
डा कोइराला सहितको यो पुस्ता कांग्रेसको नयाँ र पुरानो पुस्ताबीचको समूह हो। किनभने, देउवा, पौडेलपछिको यो पुस्तापछि कांग्रेसको नेतृत्वका लागि विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, कल्याण गुरुङ लगायतको समूहले दावेदारी प्रस्तुत गरेर बसिरहेको छ।
बरिष्ठ नेता पौडेललाई पुरानो र इतिहास भएको पुस्ताको नेतृत्वकर्ता मानेर डा कोइरालाले राष्ट्रपति प्रस्ताव गरे र देउवालाई पनि मात दिन भने कांग्रेसको नेतृत्व आगामी महाधिवेशनबाटै ‘दोस्रो पुस्ता’ को काँधमा आउनेछ।
तर, सभापतिमा विजय हासिल गर्न आफ्नै पुस्ताका अगुवा नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिँह केसी लगायतका नेताहरुको साथ डा कोइरालालाई चाहिन्छ। कोइराला परिवारकै डा शशांक कोइराला र सुजाताको समर्थन प्राप्त गर्न सकेनन् भने पौडेल, सिटौला, केसी लगायतका नेताको साथ पाएर मात्र पनि उनी सफल हुन सक्दैनन्।
तर, कोइराला परिवारबाट उनले चुनौति आउने सम्भावना छैन। गत महाधिवेशनबाट महामन्त्री बनेका डा शशांक यसपटक कांग्रेस नेतृत्वका लागि आकांक्षी छैनन्। क्यान्सर रोगका कारण सुजाता ‘रेष्ट’ मा छिन्। कोइराला परिवारका लागि डा शेखर नै सर्वसम्मत नेता हुन्।
मोदी–शाहले पुरानो पुस्तालाई सम्मानमात्र दिएको छैन, नयाँ पुस्तालाई पर्याप्त स्थान पनि दिएका छन्। नयाँ मण्डलमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई अमेठी निर्वाचन क्षेत्रबाट पराजित गर्ने स्मृति इरानीलाई टेक्सटाइल, महिला र विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। स्वतन्त्र रुपमा निर्णय लिनसक्ने गरी युवा नेता किरण रिजेजुले युवा मामिला, खेलकुद र सीमान्तकृत समुदाय मामिला सम्बन्धी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् भने राज्य मन्त्रीका रुपमा अनुराग ठाकुरले अर्थ र कर्पाेरेट अफेयर्स सम्बन्धी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
पुरानो र युवा पुस्ताको बीचमा रहेको ‘मध्यम–प्रौढ पुस्ता’ बाट सभापतिमा डा कोइराला आफै प्रत्यासी हुनेछन्। आफ्नै पुस्ताका सिटौला, केसी लगायतका नेतालाई कसरी व्यवस्थापन गर्ने, उनलाई सुझिसकेको छैन। सम्भवतः उपसभापतिको जिम्मेवारी दिएर सिटौला–केसीलाई समेट्ने उनको प्रयास हुनेछ।
मोदी–शाहले जसरी आफ्नो टिममा युवा पुस्तालाई समावेश गरेका छन्, कोइरालाले पनि त्यसै गर्ने योजना बनाएका छन्। त्यसका लागि उनले गत महाधिवेशनमा महामन्त्रीका प्रत्यासी रहेका गगन थापालाई आफ्नो टिमबाट सोही पदकै उम्मेदवार बनाउने प्रयास गरिरहेका छन्।
‘गगनलाई आफ्नो टिमबाट उम्मेदवार बनाउँदा एउटा मध्यम पुस्ता (सभापतिमा डा कोइराला आफै) र युवा पुस्ता (महामन्त्री गगन) बीचको राम्रो संयोजन हुन्छ’ कोइराला निकट एक नेताले भने, ‘अर्काे फाइदा पनि छ। त्यो हो– गगनको सहभागिताबाट डा कोइराला समूहमा सिटौला समूहको पनि प्रतिनिधित्व हुन्छ। त्यसैले, गगनलाई डा कोइरालाको टिममा भित्री प्रयास अहिले पनि जारी छ।’
यद्यपी, डा कोइरालाले अहिलेसम्म सिटौला–केसीबाट साथको वचन भने पाएका छैनन्। सिटौला–केसीको साथ नपाएको स्थितिमा ‘युवाको भावनालाई समेट्ने नेता कांग्रेसमा आफू नै हुँ’ भन्ने सन्देश दिने गरी गगनलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेका छन्। तर, युवा नेता गगनबाट पनि उनले साथ पाउने भरपर्दाे बचन पाएका छैनन्।
गगनलाई आफ्नो साथमा ल्याउने प्रयास स्वरुप आफ्नो पकड रहेका जिल्लामा हुने महत्वपूर्ण कार्यक्रममा कोइरालाले गगनलाई पनि सकभर सहभागी गराउँदै आएका छन्। केहीअघि मोरङ र प्यूठानमा भएको पार्टी प्रवेश कार्यक्रममा डा कोइरालासँगै गगनपनि साथमा थिए।
सत्तारुढ नेकपामा जस्तै आगामी महाधिवेशनमा आफ्नो पक्षमा परिणाम हात पार्न कांग्रेसभित्र पनि रस्साकस्सी सुरु भएको छ। महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न ओली पक्षले नेकपाभित्र ‘जबज’ लाई अस्त्र बनाउँदै डा कोइराला पक्षले चाहिँ कांग्रेसमा नयाँ–पुुरानो पुस्तालाई मान प्रदान र आकर्षक जिम्मेवारी दिएर महाधिवेशनको परिणाम आफ्नो हातमा पार्ने प्रयास गर्दैछ।
प्रतिक्रिया