ad ad

राजनीति


‘हट्टाकट्टा छ- लाहुरे हुन्छ भन्थे, राजनीतिले छोएपछि छाती नपाउन गइएन’

‘हट्टाकट्टा छ- लाहुरे हुन्छ भन्थे, राजनीतिले छोएपछि छाती नपाउन गइएन’

वाशुदेव मिश्र
पुस १८, २०७६ शुक्रबार १०:२५,

तनहुँको फिरफिरेबाट उत्तर फर्कने हो भने हिमालको लामो पर्खाल देखिन्छ। आँखामा अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ र धौलागिरि हिमश्रृंखला टाँस्सिन आइपुग्छन्। कुनै बेलाको ढोर लामागाउँ पञ्चायत अहिले शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर १२ भएको छ।

नगर सुहाउँदा छैनन्, फिरफिरेका पूर्वाधार। ८१९ घरधुरीमध्ये मुस्किलले ६ सय घरमा मात्रै मान्छे बस्छन्। शुक्लागण्डकीको सबैभन्दा ठूलो वडाको जनसंख्या ३ हजार २ सय ३५ रहेको छ। र, गण्डकी प्रदेशकै कान्छा मनराज गुरुङ यो वडाको वडाध्यक्ष छन्।

बल्ल २६ टेकेका मनराजलाई स्कूल पढ्दै राजनीतिले छोयो। तत्कालीन माओवादीका इलाका सेक्रेटरी मुक्ति सिग्देलको संगतमा परेपछि उनी क्रान्तिकारी बने। त्यो बेला उनी स्कूलको बाल क्लवमा सक्रिय थिए रे। मुक्तिले उनलाई क्रान्तिको पाठ सिकाए। एकोहोरो बनाए।

‘बाउबाजेदेखि परिवार नै लाहुरे। हट्टाकट्टा सबैले लाहुरे हुन्छ भन्थे’, कान्छा वडाध्यक्ष मनराजले अतित सम्झँदै भने, ‘तर, आफूलाई भने राजनीतिले छोयो, छाती नपाउनेतिर ध्यान नै गएन।’

कुन विचार र पार्टी राम्रो भन्ने थाहा नहुँदै उनी त्यो बेलाको भूमिगत पार्टीको निष्ठावान कार्यकर्ता बने। कलेज पढ्दा पनि उनी अझ खारिए। पक्का क्रान्तिकारी बने। पछि माओवादी नै फुट्यो। वैद्य समूह गएपछि उनी निरास बने। पार्टीको गाउँ इकाइ सचिव पनि उनी नै थिए। तर, मनको निराशाले पार्टीमा खासै सक्रिय भएनन्। २१ वर्ष कटेपछि लाहुरेको लागि छाती नपाउन नपाइने। घरमा छोरो बिग्रियो भन्ने भयो।

२२ वर्षतिर बिहे पनि गरे। विदेश जान पासपोर्ट पनि बनाए। त्यही बेला मुक्ति झुल्किए। राजनीतिबाट नभाग्न आग्रह गरे। राजनीतिक गुरुले भनेपछि मान्नैपर्‍यो। उनी नेपालमै अडिए। स्थानीय चुनावको माहौल आयो। शुक्लागण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो। पाँचवटा वडामा मात्र तालमेल सम्भव भयो। उनी भाग्यमानी दरिए। वडाध्यक्षको टिकट मनराजलाई दिँदा पार्टीमा कुनै विवाद नै भएन रे। वडा नम्बर १२ माओवादीको भागमा पर्‍यो। पूर्वएमालेको प्रभाव क्षेत्र मानिने सो वडामा उनले चुनाव जिते।

वडाध्यक्षमा उठ्ने कुरा भन्दा पनि भनेनन्।

‘घरकाले थाहा पाएपछि यो अब विदेश जाँदैन भन्ने बुझे र विदेश जाऊ भन्नै छाडिदिए’, उनले भने,‘त्यसपछि मेरो जीवन नै मोडियो।’

सानै उमेरमा उनी जनप्रतिनिधि बने। जनप्रतिनिधि बन्न त बने तर काम गर्ने तरिका थाहै थिएन। पार्टीका मान्छेहरु पनि संसदीय अभ्यासमा थिएनन्। उनले आफ्नै सुरुले काम सुरु गरे।

आखिर उनले गरे के त?

‘म निर्वाचित भएपछि तीनवटा कुरालाई प्राथमिकतामा राखेको छु ,पहिलो कृषि नै हो, दोस्रो पर्यटन र तेस्रो पूर्वाधार विकास नै हो’, उनले भने,‘अहिले कामले गति लिएको छ।’

उनले गाउँलेलाई उत्पादनसँग जोड्ने योजना बुने। वडाको घडेरी भन्ने ठाउँमा गएर गाउँलेलाई लोकल कुखुरा पाल्न हौस्याए। अनुदान समेत दिने आश्वासनपछि गाउँलेहरु ठूलो संख्यामा लोकल कुखुरा पाल्न तयार भए।

चरेर खाने लोकल कुखुराको खोर र चर्ने ठाउँ बनाउने वुद्धि पनि आफैले निकाले। अहिले घडेरीका २० घरका किसानले पालेका छन्। लोकल कुखुरा उत्पादनको पकेट क्षेत्र नै माने हुन्छ रे, घडेरीलाई।

‘एउटा घरले एक वर्षमा डेढ लाखसम्मको कुखुरा बेचेका छन्’, उनले भने,‘यो सानो कुरा हैन।’

वडाको रातामाटामा २२ घरमा बाख्रा पालनको मोडल तयार पारे। बाख्रा पालनको पकेट क्षेत्र, १५ वटा माउ बाख्रा पाल्नेलाई १ लाख, १० वटा भए ५० हजार र ५ वटा बाख्रा पाल्नेलाई ३० हजार अनुदान दिइयो। करिब ५० जना बाख्रा किसानले अनुदान लिएको उनले बताए।

‘बाख्रा मात्रै पालेर भएन, आधुनिक र व्यावसायिक तरिकाले पाल्नुपर्‍यो’,उनले भने,‘ दुग्ध उत्पादनको पकेट क्षेत्र बनाउने योजना अनुसार लिलाचोकमा भैँसीको संख्या अनुसार ५ वटा भए ५० र ३ वटा भए ३० हजार अनुदान दिने नीतिले काम गरेको छ।’

उनका अनुसार अहिले त्यहाँबाट अहिले करिब २ सय लिटर दूध बजार जान्छ रे। वर्खायाममा भने यो मात्रा बढ्ने उनले सुनाए। उनका अनुसार १५ वटा बाख्रा पाल्दैमा उद्यमी भइँदैन तर के खाऊँ भन्ने समस्या हट्छ। आधारभूत आवश्यकताको परिपूर्ति गर्न ठूला परियोजना आउनै पर्छ। सहरबाट खुर्सानी र गोलभेँडा ल्याउने बाटोमा करोडौँ लगानी गर्दा उत्पादनसँग जोड्ने अभियान चलाउनु पर्ने उनको भनाई छ।

उनका अनुसार वडाले बाँझो जमिन उपयोग गर्न घमाइलो ठाउँमा कागती र केही चिसो ठाउँमा कफी रोप्ने योजना पनि अघि सारे। त्यसका लागि कम्तिमा ५० हजारवटा विरुवा रोप्नु पर्ने सर्त राखियो। अनुगमन गर्न नियम बनाइयो अनि तीन वर्षसम्म एउटा विरुवालाई १ सय अनुदान। १ हजार विरुवालाई अनुदान दिन सुरु गरियो।

अनुदान किन त ?

‘किसानको गुजारा होस् र उनीहरु प्रोत्साहित होस् भनेर’, उनले सटिक उत्तर दिए।

उनलाई घडेरीलाई कुखुरा र रातामाटालाई बाख्रा पकेट क्षेत्र घोषणा गर्ने जोस पनि चलेको छ। ‘तर प्रचार पो बढी हुन्छ कि?’, उनले प्रश्न गरे।

गण्डकी प्रदेश सरकारसँग मिलेर १२ अर्ब लगानीमा गाई फार्म राख्नेबारे पनि कुरा भइरहेको उनले सुनाए। त्यसको लागि १ हजार रोपनी जग्गा व्यवस्था भएको र जग्गाधनीलाई नै सेयर सदस्य बनाइएको पनि उनको भनाई थियो। उद्यममा विदेशबाट फर्केर आएका र यहीँ बसेका युवाहरु लागेको पनि उनले जिकिर गरे।

आफ्नो कामप्रति सन्तुष्ट देखिएका उनलाई सोधियो, ‘पाँच वर्षपछि फिरफिरे कस्तो होला?’

‘गण्डकी प्रदेशमा फिरफिरे शब्द नसुनेको मान्छे नै नहोला। बल्ल हामी सुरु गर्दैछौँ, होमस्टेहरु व्यवस्थित गर्दैछौँ’, उनले भने।

गाउँमा रहेका ८३० घर धुरीमध्ये ५ सय घरधुरी उद्यमसँग जोडिएको बनाउने, कृषिको मोडल गाउँको रुपमा बनाउने, कम्तिमा गाउँहरु वडा कार्यालयसँग बाटोले जोडिने ठोकुवा पनि उनले गरे।

उनका अनुसार वडाध्यक्षबाट बिदाई हुँदै गर्दा गाउँको मूलबाटो आधा पिच हुनेछ। कादुरीसँगको सहकार्यले खानेपानीको समस्या हल भएको छ। खानेपानीको समस्या पूर्ण रुपमा हल हुनेछ।

‘स्मार्ट भिलेज त कल्पना नै भयो’, उनले भने, ‘विकासका आधारभूत कुरा पूरा हुन्छन्, म अर्को पटक यही भूमिकामा भने रहन्नँ।’

उनले आफ्नो राजनीतिक महत्वकांक्षा लुकाएनन्।

थप्दै गए ,‘मेरो मानसपटलमा के कुरा आएको छ भने, मेरो अबको जीवन नै राजनीतिक हो। कहिलेसम्म राजनीति गर्ने भन्ने हो। औपचारिक घोषणा त गरेको छैन, हामी युवाहरुले अरुलाई पनि सिकाउनु पर्छ। बिस्ताराबाटै संवोधन गर्नेगरि नेता बन्ने हैन, ५० वर्षपछि ३ महिना राजनीति गर्, प्रधानमन्त्री बनाइदिन्छु भन्दा पनि म गर्दिन।’

जनताको आकांक्षा त असीमित भएको स्वीकार्ने उनले शिक्षा राम्रो नहुँदा बजार झर्नेहरु बढेको बताउँदै रोक्न सामुदायिक विद्यालय सुधारको योजना रहेको पनि सुनाए। उनका अनुसार नेतृत्वमा युवा हुँदा विकास हुने र नहुँदा विकास नहुने भन्ने हुँदैन रे। उनका अनुसार युवामा स्पिड भने हुन्छ।

काम गर्दा सजिलो भने छैन उनलाई। उनकै भाषामा हिजोका साथी आज शत्रु र हिजोका शत्रु आज मित्र भएका छन्। गुरुङ गाउँ भएकाले काम गर्न भने सजिलो छ। विकासमा राजनीति नगरौँ भन्ने मत दह्रो छ। आफू कान्छो वडाध्यक्ष हुँदा कस्तो लाग्छ त ? अन्तिमतिर प्रश्न सोधियो।

उनले सहज रुपमा भने, ‘मुख्यमन्त्रीको मुखबाट सबैभन्दा कान्छो हौ भन्ने सुनेँ, काम ठूलो हो, उमेर त के कुरा?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .