ad ad

राजनीति


राष्ट्रियसभामा कांग्रेस र समाजवादीबीच १६–२ को तालमेल

राष्ट्रियसभामा कांग्रेस र समाजवादीबीच १६–२ को तालमेल

सागर न्यौपाने
पुस १८, २०७६ शुक्रबार ११:४९,

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र केही समय अगाडि सरकारबाट बाहिरिएको समाजवादी पार्टीले राष्ट्रियसभाको निर्वाचनका लागि तालमेल गरेका छन्।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेका दुई दलको बैठकले राष्ट्रियसभामा मिलेर जाने निर्णय गरेका हुन्।राष्ट्रियसभाका १८ सिटमध्ये कांग्रेसले १६ र समाजवादी पार्टीले २ सिटमा उम्मेदवारी दिनेगरी सहमति भएको कांग्रेसका एक नेताले बताए।

उनका अनुसार प्रदेश नम्बर २ बाट अन्य र दलित २ सिट मात्र समाजवादीले लिनेछ भने प्रदेश २ कै अल्पसंख्यक र महिला सिटसहित सबै रिक्त पदमा कांग्रेसले उम्मेदवारी दिनेछ। ‘ प्रदेश २ को अन्य र दलित गरी २ सिटबाहेक बाँकी १६ सिटमा कांग्रेसलाई सघाउन समाजवादी तयार भएको छ’, कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका ती नेताले नेपालखबरसँग भने, ‘त्यसको लिखित ड्राफ्ट बन्दैछ।’

वार्तामा समाजवादीबाट केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा कांग्रेसबाट सभापति देउवासहित उपसभापति विजय गच्छदार सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेता सहभागी छन्। सहमति लिखित रुपमा हुने र त्यसमा देउवा र यादवले हस्ताक्षर गर्ने सहमहामन्त्री महतले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार आजै लिखित सहमतिमा हस्ताक्षर गरिनेछ।

समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई गोरखामा भएकाले अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठले कांग्रेससँग कार्यगत एकताका लागि वार्ता गर्न देउवा निवास पुगेका हुन्।

कांग्रेसको कार्यसमिति बैठक पटक–पटक बहिष्कार गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समाजवादीसँग कार्यगत एकताको लागि सहमति जनाएपछि शुक्रबार समाजवादीसँग वार्ता गरी सहमति गरिएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए। ‘समाजवादीसँग एलायन्स गर्ने कुरामा हाम्रो सहमति छ, उम्मेदवार चै हामीसँग परामर्श गरेर बनाउनुपर्छ,’ पौडेल समूहको भनाई उधृत गर्दै ती नेताले नेपालखबरसँग भने।

संविधान संशोधन गर्न विज्ञ समूह बनाउने योजनालाई मन्त्रिपरिषदमा पेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि समाजवादी पार्टी पुस ८ गते सरकारबाट बाहिरिएको थियो। सरकारबाट बाहिरिएपछि पुस ११ गते अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कांग्रेस सभापति देउवासँग बुढानिलकण्ठ पुगेर भेट गरी राष्ट्रियसभामा कार्यगत एकता गरेर जाने प्रस्ताव गरेका थिए।

राष्ट्रियसभामा कांग्रेसबाट १३ जना सांसद रहेकोमा ७ जनाको अवधि सकिँदैछ। यस्तै समाजवादीको २ जनामध्ये १ जनाको अवधि सकिँदैछ।

राष्ट्रियसभामा गाउँपािलका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको मेयर र उपमेयर तथा प्रदेशसभाका सांसदले मत दिन्छन्, गाउँपालिकाको भन्दा प्रदेशसभा सांसदको मतभार बढी हुन्छ। जसमा गाउँपालिकाको २.६६ मत बराबर प्रदेश सभाको १ मत हुन्छ। नेकपाको ६ वटा प्रदेशमा बहुमत छ र बढी स्थानीय तहको प्रमुख उपप्रमुख पनि रहेका छन्।

राष्ट्रियसभाको रिक्त पदको चुनाव माघ ९ गते हुँदैछ। यसअघि नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रियसभाको उम्मेदवार चयन गरिसकेको छ । त्यसमध्ये प्रदेश २ मा सत्तारुढ नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा) सँग कार्यगत एकता गर्दै २÷२ सिट बाँडफाँट गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .