सरकार विस्तारसँगै जिम्मेवारी फेरिएका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेका छन्।
यसअघि गत पुस ११ गते भौतिक पूर्वाधार मन्त्री बनेका नारायणकाजी १० वर्षपछि दोस्रो पटक गृहमन्त्री बनेका हुन्।
दबाबमा परेर काम गर्नु नपर्ने बताउँदै संविधान, कानुन र जनतालाई हेरेर काम गर्न निर्देशन दिए।
धनी पहुँचवाला प्रहरीका हाकिमकँहा सजिलै पुग्ने तर गरिब निमुखाका कुरा नसुन्ने कुराको अन्त्य हुनुपर्ने गृहमन्त्री श्रेष्ठले बताए।
यस्तै भ्रष्टाचार र अपराध नियन्त्रणमा संकल्प गर्न पनि उनले निर्देशन दिए।
‘भ्रष्टाचार नगर्ने संकल्प गरौँ। पहिले गर्नु भएको छ भन्ने होइन नगरेको भए धेरै राम्रो। यसमा मेरो सबैभन्दा बढी चासो रहन्छ। घुमाएर, बांगोटिंगो कोणबाट भ्रष्टचार गरेको सहन सकिने छैन’, श्रेष्ठले भने।
अपराध नियन्त्रणमा पूर्ण जिम्मेवारीबोधका साथ काम गर्न आवश्यक रहेको बताउँदै उनले अपराधलाई छुट दिँदै गए अराजकतामा बद्लिने उल्लेख गरे।
‘अपराधले लोकतन्त्रको सुन्दरतालाई हरण गरिदिन्छ। अपराधीलाई दण्डित गर्ने हाम्रो प्राथमिकतामा पर्छ। कुनै पनि किसिमको मोलाहिजा र सम्झौता गर्ने छुट दिइने छैन’, श्रेष्ठले भने।
भिडिओ
Shares
प्रतिक्रिया