नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको नौ दलीय गठबन्धनलाई लोकतान्त्रिक र प्रगतिशील भनेका छन्।
बुधबार काठमाडौंस्थित सम्पादकहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन्।
'चुनावपछि नयाँ परिस्थिति उत्पन्न भएको छ। नयाँ समीकरण बनेको छ। पुरानो कसरी भत्कियो? कसैको बहुमत पुगेन', उनले भने, 'जोसँग कम्फर्टेबल भयो, विचार मिल्यो उसैसँग मिलेको हो। जनताले मिलेर सरकार बनाउन जनादेश दिए। अहिलेको प्रगतिशील र लोकतान्त्रिक गठबन्धन हो। यसको पहिलो उद्देश संविधानको रक्षा हो।'
वाम-लोकतान्त्रिक गठबन्धनले जनताको भावलाई बोकेर सरकारलाई स्थायित्व दिने कुरामा आशंका रहेका उनले बताएका छन्।
'तपाईंहरु ढुक्क हुनु भए हुन्छ, ५ वर्षसम्म यो गठबन्धन रहन्छ। मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छौँ', उनले भने, 'हामीले स्वच्छ छवि राखेर सुशासन दिने हो भने हामीमाथिका आरोप हट्छन्।'
उनले अर्थतन्त्र गम्भीर संकटमा रहेको उल्लेख गरेका छन्। 'हाम्रो देशको सही दिशामा अघि बढाउन विशाल चिन्तन मनन गर्नुपर्छ । अर्थतन्त्र आयातमुखी बन्यो', उनले भने, 'त्यसैले अर्थतन्त्रबारे हामी गम्भीर हुनु पर्छ।'
नेपालले प्रदेशमा अब सरकार पुनर्गठन प्रक्रिया अगाडि बढ्ने पनि बताए।
Shares
प्रतिक्रिया