ad ad

राजनीति


अमेरिकी दबाबका कारण रविका गैरकानुनी क्रियाकलापमाथि ढाकछोप : केसी

अमेरिकी दबाबका कारण रविका गैरकानुनी क्रियाकलापमाथि ढाकछोप : केसी

नेपालखबर
चैत २३, २०७९ बिहिबार १६:३, चितवन

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रवि लामिछानेका गैरकानुनी गतिविधिमाथि अमेरिकी दबाबका कारण सरकारले ढाकछोप गरेको आरोप लगाएका छन्। 

बिहीबार भरतपुरमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष केसीले रवि नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी ‘अमेरिकी साम्राज्यवाद’ बाट सञ्चालित भएको आरोप पनि लगाए। 

हालै सरकारले रवि लामिछानेको दोहोर राहदानीको विषयलाई अघि नबढाउने निर्णय गरेकोप्रति केसीले कटाक्ष गरेका हुन्। 

जनमोर्चाले वैशाख १० गते हुने चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा ‘अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौँ’ भन्ने नारासहित चुनावमा भाग लिएको छ। जनमोर्चाबाट सो क्षेत्रमा जनकराज शर्मा उम्मेदवार छन्। 

लिखित मन्तव्य राख्दै केसीले भने, ‘अमेरिकी साम्राज्यवादको एजेन्टको रुपमा कथित स्वतन्त्र पार्टीका सभापतिले भूमिका खेलिरहेको हुनाले नै अमेरिकीहरुको दबाबमा उनले गरेका सबै गैर कानुनी कामहरुमा राज्यले उनलाई बचाउने कोशिस गरिरहेको छ। नागरिकता वा राहदानी प्रकरणमा राज्ले नै उनको गैर कानूनी कामलाई ढाकछोप गर्ने काम गरेको थियो।त्यति मात्र नभएर चितवनको उपनिर्वचनमा दर्ता भएको उनको उम्मेदवारीका विरुद्ध परेको दावी विरोध उजुरीलाई खारेज गरेर राज्यले उनलाई बचाउन खोजेको छ।’

केसीले रवि लामिछानेको पछाडि अमेरिकी शक्ति रहेको दाबी गर्दै उनलाई ‘भगवान’ बनाइएको बताए। 

पत्रकारले रवि लामिछाने नै चुनाव जित्छन् भन्ने छ नि भनेर राखेको प्रश्नमा केसीले कटाक्ष गरे, ‘तपाइँहरुले भगवान बनाउनुभएको छ। भगवानसँग त शक्ति हुन्छ। चुनाव पनि सजिलै जित्लान् नि त। हामी त सर्वसाधारण जनता हार्न पनि सक्छौँ।’

साथै, उनले भगवान (अमेरिका) ले सिरिया, अफगानिस्तान, इराकमा जितेको र तहसनहस पारिदिएको बताए।

केसीले चितवनका जनताले साम्राज्यवादविरुद्ध मतदान गर्नेमा आफू विश्वस्त रहेको बताए।

फरक प्रशंगमा अध्यक्ष केसीले जनताका छोराछोरीलाई खाडी पठाएर आएको रेमिट्यान्सले संघीयता नचल्ने स्पष्ट पार्नुभयो। उनले संघीयताका कारण जनताको ढाड भाँचिएको बताए।

‘साढे तीन अर्ब रुपैयाँ वर्षेनी खर्च भइरहेको छ। कुनै उद्योगधन्दा कलकारखाना खोल्न होइन, सांसद मन्त्री पाल्न। त्यसकारण संघीयता खारेज गर्नुको विकल्प छैन’ उनले भने, ‘संघीयता बोक्नेको मनमा पनि जौ तिल पाकिराखेको छ। यसलाई कसरी धान्ने भनेर। जनताले २०६२/०६३ को आन्दोलन जस्तै संघीयता खारेज गर्ने आन्दोलनमा सामले हुनुपर्छ।’

कार्यक्रममा चितवन क्षेत्र नं २ का उम्मेदवार एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्मा, महासचिव मनोज भट्ट लगायत नेताहरु सहभागी थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .