नेकपा (मसाल) ले चितवनमा भइरहेको उपनिर्वाचन सिधै अमेरिकी साम्राज्यवादविरुद्धको संघर्ष भएको बताएको छ।
शनिबार एक वक्तव्य प्रकाशित गरी मसालले चितवनको उपचुनाव सामान्य रुपले हेर्दा स्थानीय चुनाव जस्तो देखिएपनि राजनीतिक दृष्टिकोणले त्यसको ठूलो राष्ट्रिय महत्व रहेको बताएको छ।
महामन्त्री मोहनविक्रम सिंहद्वारा शनिबार जारी विज्ञप्तिमा ‘त्यहाँको चुनावमा अमेरिकी साम्राज्यवादपरस्त तत्वहरु खुला रुपले नै मैदानमा आएका छन् भन्दै उनीहरूको उद्देश्य नेपालको संसदमा नै प्रभुत्व कायम गरेर नेपालको सम्पूर्ण राज्यसत्तालाई नै अमेरिकी साम्राज्यवादी स्वार्थको पक्षमा प्रयोग गर्नु हो भनिएको छ।
मसालले चितवनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्मालाई मतदान गर्न पनि सम्पूर्ण चितवनका जनतासित अपील पनि गरेको छ।
यस्तो छ वक्तव्य
नेकपा (मसाल) ले राष्ट्रिय जनमोर्चाका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार बन्नुभएको त्यसका उपाध्यक्ष का. जनकराज शर्मालाई मतदान गर्नको लागि त्यस निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताहरूसित अपील गर्दछ।
चितवनको उपचुनाव सामान्य रुपले हेर्दा स्थानीय चुनाव जस्तो देखिन्छ। तर राजनीतिक दृष्टिकोणले विचार गर्दा त्यसको ठूलो राष्ट्रिय महत्व छ। किनभने त्यसले देशको राजनीतिमा नै ठूलो र गम्भीर असर पार्ने छ। त्यसको कारण यो हो, त्यो चुनाव सिधै अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्षसित जोडिएको छ। त्यहाँको चुनावमा अमेरिकी साम्राज्यवादपरस्त तत्वहरु खुला रुपले नै मैदानमा आएका छन् र उनीहरूको उद्देश्य नेपालको संसदमा नै प्रभुत्व कायम गरेर नेपालको सम्पूर्ण राज्यसत्तालाई नै अमेरिकी साम्राज्यवादी स्वार्थको पक्षमा प्रयोग गर्नु हो।
चितवनको चुनावमा त्यस प्रकारको तत्वहरुको विजय हुन्छ भने त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा वृहत्तर राष्ट्रिय हितमा दीर्घकालीन रुपमा नै कुठाराघात पुग्ने कुरा अवश्यमभावी छ। त्यसकारण नेपालमा अमेरिकी साम्राज्यवादी शक्तिलाई पराजित गर्नुपर्ने आवश्यकता छ र त्यसका लागि चितवनको चुनावले विशेष महत्व राख्दछ। त्यसैले हाम्रो पार्टीले त्यो चुनावलाई विशेष महत्व दिएको छ। वास्तवमा त्यो चुनाव सामान्य चुनाव नभएर अमेरिकी साम्राज्यवाद विरुद्धको संघर्षको एउटा अङ्ग हो। त्यस अर्थमा नै त्यो चुनावले विशेष महत्व राख्छ।
Shares
प्रतिक्रिया