पहिचानलाई लत्याउँदै प्रदेश १ को नाम ‘कोशी’राखिएको विरोधमा आन्दोलितहरु व्यक्तिगत आक्रमणमा उत्रिन थालेका छन्।
केही दिनअघि खोटाङमा नेकपा एमालेका प्रदेश सांसद पीके राईमाथि आक्रमणप्रयास गरेका उनीहरुले बुधबार बिहान एकजना मन्त्रीको काठमाडौंस्थित घरमा आक्रमण गरेका छन्।
सोलुखुम्बाट निर्वाचित एमालेका प्रदेश सांसद एवम् कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा बुधबार सबेरै बिहान आक्रमण भएको हो।
मन्त्री भण्डारीको काठमाडौं पेप्सीकोलास्थित घरमा बिहान साढे ५ बजे छापामार शैलीमा आएका केही व्यक्तिहरुले प्रवेश गरी तोडफोड गरेको दाबी एमाले सोलुखुम्बुले गरेको छ।
एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले बुधबार एक वक्तव्य जारी गर्दै मन्त्री भण्डारीको घरमा केही व्यक्तिहरु छापामार शैलीमा प्रवेश गरेर तोडफोड गरेको जनाएका छन्।
'सोलुखुम्बु जिल्लाबाट निर्वाचित हाम्रो पार्टी नेकपा एमालेका नेता कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौं पेप्सीकोलास्थित घरमा छापामार शैलीमा केही व्यक्तिहरु प्रवेश गरी तोडफोड गरेको घटनाले हामीलाई दुखित बनाएको छ', उनले भनेका छन्, 'कोशी प्रदेश नामाकरणको विषयलाई लिएर व्यक्तिको निजी सम्पतिमा गरिएको भौतिक आक्रमण अत्यन्त निन्दनीय र खेदजनक छ।'
उनले कोशी प्रदेश नामाकरणको विषय राजनीतिक भएको बताउँदै त्यसलाई राजनीतिक रुपमै समाधान गरिनुपर्नेमा जोड दिएका छन्।
'परिवार र समाजलाई डर, धाकधम्की देखाउँदै आतद्रित पार्ने गरी गरिएको यसप्रकारको आपराधिक आक्रमणले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान झल्किने सामाजिक सदभावसहित मिलेर बसेको हाम्रो समाजलाई विभाजित गर्ने र मुठभेटसम्म लैजान सक्छ', वक्तव्यमा भनिएको छ, 'सस्तो लोकप्रियताको लोभमा गरिएका यी र यस्ता प्रायोजित प्रोपोगाण्डा यथाशीघ्र बन्द गरी समस्या समाधानको बाटोमा लाग्न सम्बन्धित पक्षमा आग्रह गर्छौँ।'
उनले तोडफोडमा संलग्नहरुलाई प्रचलित कानुन बमोजिम कारवाहीका लागि सरकारसमक्ष अनुरोध गरिएको पनि जनाएका छन्।
Shares
प्रतिक्रिया