दुर्गा प्रसाईंसँग रकम मागेको अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले गरेकाे कारबाहीका विषयमा दुईधार देखिएको छ।
बुधबार अपराह्न बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बन गर्दै सांसद पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ।
तर, उनलाई सांसद पदबाट हटाउने निर्णयमा पार्टीका अधिकांश नेताले असन्तुष्टि जनाएको एक पदाधिकारीले नेपालखबरसँग बताए।
सभापति रवि लामिछाने श्रेष्ठप्रति निकै आक्रामक थिए। उनैको जोडमा श्रेष्ठलाई पार्टी र सांसद् दुवैबाट हटाउने निर्णय भएको ती नेताले दाबी गरे।
'हामी अधिकांश केन्द्रीय सदस्यले ढाकाजीमाथिको कारबाही गरे पनि सांसदबाट हटाउने निर्णय हतारिएर नगरौँ, उहाँको बदलामा अहिले नै अर्को सांसद बनाउने निर्णय नगरौँ, नपठाऔं भन्यौँ,' ती पदाधिकारीले भने, 'तर सभापतिजीले मान्नुभएन। पार्टीलाई ध्वस्त पारेको भन्दै तत्काल निर्णय गर्ने प्रस्ताव गर्नुभयो।'
'सभापति रविजी निकै एग्रेसिभ हुनुहुन्थ्यो तर, उपसभापति डोलप्रसाद अर्याल न्युट्रल बस्नुभयो', उनले थपे।
ती पदाधिकारीका अनुसार दुवै पदबाट कारबाही गर्नुपर्छ भन्ने पक्षमा ९/१० जना मात्र थिए। रास्वपाको केन्द्रीय समितिमा अहिले ३९ सदस्य छन्।
बैठकले श्रेष्ठलाई पदबाट हटाएपछि रिक्त हुने ठाउँमा समानुपातिकतर्फकी उम्मेदवार विन्द्याबासिनी कंशाकारलाई पठाउने निर्णय गर्दै निर्वाचन आयोगमा पत्राचार गर्ने भएको छ।
कोर टिमबारे रविलाई केन्द्रीय सदस्यको प्रश्न
सभापति लामिछानेलाई ढाकाले भनेको कोर टिममा को-को छन् भनेर केन्द्रीय सदस्यहरूले प्रश्न गरेका थिए।
'कोर टिम के हो? को-को छन्? यसबारे बाहिर निकै आलोचना भएर क्वेसन्स् उठेको छ', भन्दा उहाँ (रवि) ले कुनै जवाफ दिनुभएन। हामी सबै कोर टिम भन्नुभयो', अर्का केन्द्रीय सदस्यले भने।
बैठक चलेकै बेला ढाकासँग स्पष्टीकरण
अर्का एक पदाधिकारीका अनुसार केन्द्रीय समिति बैठक चलिरहेकै बेला केन्द्रीय सद्स्यहरुले ढाकासँग स्पष्टीकरण मागेका थिए।
उनी त्यसबेला पत्रकार सम्मेलन सकाएर बसेका थिए।
'अनुशासन तथा आचरण समितिले दिएको प्रतिवेदनअनुसार उहाँलाई हामीले कोर टिम को हो त भनेर बयान लिएका थियौँ, तर जवाफ आएन', उनले भने, 'ममाथि षड्यन्त्र भयो भन्नुभयो।'
केन्द्रीय समितिले ढाकालाई भविष्यमा फेरि पार्टीमै फर्कन सक्ने बाटो खुला राखेको छ।
'यो निर्णयपछि ढाकाजी पुनरावेदनमा जान पाउनुहुन्छ। त्यहाँबाट निर्दोष ठहरिए पार्टीमै निरन्तरता दिन्छौँ', ती नेताले भने, 'प्रमाण पुग्यो भने कानुनअनुसार कारबाही गर्छौं।'
खासमा ढाकाप्रति कठोर निर्णयमा पुग्नुमा उनले दुईवटा कुरा गर्दा एकापसमा बाझिएको रास्वपाको निष्कर्ष छ।
'उहाँ आफैँले बोलेको कुरामा दुईटा अर्थ लाग्छ। दुईजिब्रे कुरा गर्नुभयो, कहिले अडिओ मेरो होइन, एडिटेड गरियो भन्नुहुन्छ, कहिले जनवरीतिरको भन्नुहुन्छ', अर्का नेताले भने, 'दुइटै पदबाट निलम्बन गर्ने कठोर निर्णय गर्नुको कारण यही हो।'
सभापति रवि आजै (बुधबार) स्थलमार्ग हुँदै चितवनबाट काठमाडौँ आएका हुन्।
Shares
प्रतिक्रिया