ad ad

राजनीति


२०६४ को निर्वाचनको झल्को दिने उपनिर्वाचन परिणाम

२०६४ को निर्वाचनको झल्को दिने उपनिर्वाचन परिणाम

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८० मंगलबार ९:४६, काठमाडौँ

वि.सं. २०८० को दशकको सुरुवातसँगै भएको पहिलो (उप) निर्वाचनका तीनवटै निर्वाचन क्षेत्रमा २०६४ को पहिलो संविधान सभा निर्वाचनमा विजयी दल माओवादीका कुनै उम्मेदवार रहेनन्।   

त्यो निर्वाचनमा तराई–मधेश निर्वाचन क्षेत्रको विजयी मधेशी जनअधिकार फोरम (हाल जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा–२ मा प्रतिस्पर्धी त छन्।

तर प्रतिस्पर्धाका लागि उनले सत्तागठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको सहयोग लिनु परेको छ। 

पहिलो संविधान सभा निर्वाचनमा पहाडी क्षेत्रका अधिकांश निर्वाचन क्षेत्रमा विजय हासिल गरेर माओवादी सबैभन्दा ठूलो दल बनेको थियो।

प्रत्यक्षतर्फका २ सय ४० मध्ये माओवादी उम्मेदवारहरुले १ सय २० सिटमा विजय हासिल गरेका थिए। 

फोरमले तराई–मधेशका प्रत्यक्षतर्फका ३३ सिटमा विजय हासिल गरी चौथो ठूलो दल बनेको थियो। हालको मधेश प्रदेशमा पनि फोरम सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको थियो। 

माओवादी र फोरमको उदयका कारण कांग्रेस र एमाले जस्ता ठूला दल रक्षात्मक थिए। कांग्रेस प्रत्यक्षतर्फ ३७ र एमाले ३३ सिटमा सीमित हुन पुगेको थियो। 

२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनको झल्को आइतबार (१० वैशाख) मा प्रतिनिधि सभाका तीन क्षेत्रमा भएको उपनिर्वाचनको सुरुवाती रुझानले दिएको छ।

पहिलो संविधान सभा निर्वाचनमा विजय हासिल गरेर पहाडी क्षेत्रमा माओवादी र तराई–मधेशमा फोरम जस्ता नयाँ दलहरुले पुराना दलहरुलाई रक्षात्मक बनाए जस्तै यो उपनिर्वाचनमा पहाडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र तराई–मधेशमा जनमत पार्टीले पुराना दलहरुलाई रक्षात्मक बनाएका छन्। 

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खालि भएको तनहुँ–१ मा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भइसकेका छन्।

उनले कांग्रेसका गोविन्द भट्टराईलाई झन्डै १४ हजार मतान्तरले पराजित गरेका हुन्। 

मंसिरको आमनिर्वाचनमा यो क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ १२ हजार भन्दा बढी मत प्राप्त गर्दा प्रत्यक्षतर्फ ६ हजार मत प्राप्त गरेको थियो।

माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएका कांग्रेस उम्मेदवार पौडेल २६ हजार भन्दा बढी मतले विजयी भएका थिए। एमाले उम्मेदवार एकबहादुर रानालाई १९ हजार भन्दा बढी मत प्राप्त भएको थियो।

तर, आम निर्वाचनको पाँच महिना नपुग्दै भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारले कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन र एमालेलाई भारी मतान्तरका साथ पछि पारेका छन्। त्यहाँको मतगणनाको रुझान हेर्दा अब त्यहाँ रास्वपा उम्मेदवार डा. वाग्लेको विजय घोषणा गर्नमात्र बाँकी छ भन्दा अन्यथा हुँदैन।  

यही स्थिति चितवन– २ मा पनि छ, जहाँ रास्वपाका सभापति रवि लामिछाने नै अग्रस्थानमा छन्। दोहोरो नागरिकताका कारण उनको प्रतिनिधि सभाको सदस्यता खारेज भएपछि भएको उपनिर्वाचनको सुरुवाती मतगणनाको परिणाम झन् रोचक छ।

मंसिरमा भएको निर्वाचनमा पहाडी क्षेत्र समेटिएको इच्छाकामना गाउँपालिकाको अन्तिम गणना हुँदासम्म पनि लामिछाने पछि परिरहेका थिए।

त्यहाँ एमाले उम्मेदवार कृष्णचन्द्र पोखरेल र कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ लामिछाने भन्दा अगाडि थिए। लामिछानेको अग्रता नारायणगढ–भरतपुर क्षेत्रका मतपेटिकाहरुको गणनापछि देखिन थालेको थियो।  

तर, यसपटकको उपनिर्वाचनमा लामिछानेले इच्छाकामना गाउँपालिकाबाट नै अग्रता सुरु गरेका छन्। इच्छाकामनामा रवि १७ सय बढी मतले प्रतिस्पर्धीभन्दा अगाडि रहे।

पछिल्लो परिणामअनुसार ६२ हजार ८ सय ८० मत गनिसकिएको छ। चितवन २ मा आइतबार भएको उपनिर्वाचनमा कूल ७८ हजार २ सय ७७ मत खसेको थियो। अब १५ हजार ३ सय ९७ मत मात्र गन्न बाँकी छ। 

यसअवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने भारी मतान्तकार साथ अगाडि छन्। 

ताजा परिणामअनुसार अहिलेसम्म उनले ४४ हजार ४ सय ८६ मत प्राप्त गरेका छन्।

यो परिणामले मंसिरमा सम्पन्न निर्वाचनमा जस्तै यसपटक पनि उनी फराकिलो मतान्तरसहित विजयी हुने पक्का भइसकेको छ।

गत असारमा मात्र स्थापना भएको ९ महिने रास्वपा उम्मेदवारहरुले तनहुँ र चितवनमा कांग्रेस र एमालेजस्ता पुराना–स्थापित दलका उम्मेदवारलाई भारी मतान्तरले पछि पारिरहँदा मधेश प्रदेशको बारा–२ मा सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ‘मधेशको मसिहा’ मानिने जसपा अध्यक्ष उपेन्द्र यादवलाई सुरुदेखि नै आच्छुआच्छु पारिरहेका छन्।   

जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि खालि भएको यो क्षेत्रको उपनिर्वाचनको सुरुवाती गणनामा सुरुमा कुशवाहाले अग्रता लिएका थिए, पछिल्लो समय यादवले अग्रता बढाएका छन्। 

तर, यहाँको अन्तिम नतिजा कसको पोल्टामा जान्छ, त्यो भन्न सकिने स्थिति छैन। 

पहाडी क्षेत्रमा पुराना–स्थापित दलहरुलाई नयाँ दलको रुपमा उदाएको रास्वपाले जसरी रक्षात्मक बनाइदिएको छ, नयाँ मधेशी दलको रुपमा स्थापित जनमत पार्टीले पनि तराई–मधेशमा स्थापित दल जसपालाई प्रतिरक्षात्मक स्थितिमा पुर्‍याइदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .