राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा रवि लामिछाने र डा. स्वर्णिम वाग्ले विजयी भएकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र औधी खुसी भएका छन्।
चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति लामिछानेलाई विजयी भएको घोषणा गरेलगत्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत ठूलो अपेक्षासहित दुवैलाई बधाई दिएका हुन्।
रविको विजयलाई मिश्रले ८ वर्षअघि आजकै दिन गएको महाभूकम्पसँग तुलना गर्दै राजनीतिक महाभूकम्पको संज्ञासमेत दिएका छन्। र, आफ्नै जीवनकालमा राष्ट्र रुपान्तरणको आशा व्यक्त गरेका छन्।
‘२०७२ सालमा आजको दिन गएको भौगोलिक भूकम्पको ८ वर्षपछि देशमा त्यति नै ठूलो राजनीतिक भूकम्प गएको छ। यसका पराकम्पनहरू जारी रहनेछन्’, लामिछाने र स्वर्णिमलाई मेन्सन गर्दै मिश्रले सामाजकि सञ्जालमा लेखेका छन्, ‘दिगो पुनर्निर्माण (देशको दिर्घकालीन हित) सहज हुने छैन। दिगो पुनर्निर्माणका लागि राजनीतिले अर्को एकपटक कोल्टे फेर्नुपर्छ। रवि लामिछाने र र स्वर्णिम वाग्लेलाई धेरै-धेरै बधाई तथा शुभकामना। यो देश हाम्रै जीवनकालमा रूपान्तरण हुन सकोस्।’
Shares
प्रतिक्रिया