सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात प्रस्ताव गरेका छन्।
गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताए।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला पनि जिज्ञासा पनि राखे।
उनले मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताए।
उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको पनि दोहोर्याए।
‘अहिले हामी पनि अप्ठयारोमा परेका छौँ। हामी निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छौँ। मुलुक आर्थिक महासंकटमा परेको छ। हामीले समस्याको समाधान खोज्नै पर्दछ', उनले भने, 'समाधानको उपाय खोज्ने क्रममा हामी आर्थिक महासंकटबाट गुज्रिएको नाममा पूँजीगत खर्च कटौति गर्न खोजिएको आभास भएको छ। पूँजीगत खर्च कटौति गरेर उपभोगतितिर लैजान सकिँदैन सभामुख महोदय। संकटमोचनका उपाय खोजौँ। संकटमोचन गरौँ।'
उनले अष्ट्रेलियाको उदाहरण दिँदै त्यहाँको राष्ट्रिय जनावर कंगारु बर्षेनि लाखौँ मार्ने गरेको उनले बताए।
'अस्ट्रेलियाले कंगारुको छाला निर्यात गर्दैछन। र त्यसको मासु पनि प्रयोगमा ल्याउँदैछ। श्रीलंकाले हालसालै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको छ। हाम्रा गाउँमा पनि अहिले बाँदर आतंक मच्चिएको छ। हामीले भन्दैछौं–खेतबारी बाँझो राख्नु हुँदैन। कृषिमा आधुनिकीकरण गरौँ। कृषिमा बैज्ञानिकीकरण गरौँ', उनले भने, 'अर्कोतर्फ किसानको बाली टिप्ने बेलामा बाँदरको हुलले लुटेर लैजान्छ। हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला? यसोभन्दा कतै इकोसिष्टमको कुरा उठाएर डलरबादी चिच्याउने हुन् कि भन्ने मलाई आशंका पनि छ। तैपनि बाँदर आतंकलाई अन्त्य गर्नुपर्छ। त्यसैले अहिले हाम्रो आर्थिक अवस्था हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय ठिकै हुन्छ जस्तो लाग्दछ।'
Shares
प्रतिक्रिया