ad ad

राजनीति


प्रधानमन्त्रीले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गरे : राजन भट्टराई

प्रधानमन्त्रीले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गरे : राजन भट्टराई

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १६:४९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्तिसुरक्षामा देखापरेको चुनौतिका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। 

बिहीवार सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्तिसुरक्षामा देखापरेको चुनौतिका विषयमा ध्यानाकर्षण गराएको हो।

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

उनले मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षा कस्तो छ? भन्ने स्पष्ट पारेको बताए। उनले गृहमन्त्रीसँग आफूहरुले आक्रमण गर्नेलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेको पनि बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नै अराजक गतिविधि गर्नेहरुलाई प्रोत्साहीत गरेको आरोप पनि लगाए। उनले प्रदेश नामकरण कानूनी रुपबाट टुंग्याइसकेको विषयमा प्रधानमन्त्रीले ठिक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको जिकिर गरे। 

भट्टराईले भने, ‘हाम्रो पार्टीको अध्यक्ष शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदा यो मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा जुन किसिमको अवस्था सिर्जना भयो, त्यो हरकत देखाउने कुरामा हामीले गम्भीर आपत्ति जनाएका छौँ, त्यसमा जुन तत्वले त्यो गरेका छन्, उनीहरुलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ। यसलाई प्रोत्साहीत गर्ने काम राज्यबाट नै प्रधानमन्त्री स्वयंले कानूनी प्रक्रियाबाट टुंगोमा पुर्याइएको विषयलाई यो विषय ठिक रहेनछ भनेर जुन अभिव्यक्ति दिनुभयो, त्यसले संविधान हातमा लिने कुरालाई र प्रवृत्तिलाई प्रोत्साहीत गरेको छ।’ 

नेता भट्टराईले वैशाख ७ गते दिनदहाडै कपनको सरस्वती नगरमा व्यवसाय गरेर बसेकी निरा आचार्यको हत्यारा ८ दिन बितिसक्दा समेत पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए।उनले वर्तमान एकपछि अर्को असफलतामा गुज्रिरहेको बताए। उनले वर्तमान गठबन्धन सरकारले आफ्ना न्युनतम कर्तव्य पनि पूरा गर्न नसकेको आरोप लगाए।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताइन्।

बिहीवार गृहमन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महशुस गरिरहेको बताएकी हुन्।

उनले अहिले मानिसहरु एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .