ad ad

राजनीति


मसालले देशैभर सुरु गर्‍यो ‘ऐतिहासिक तीन अभियान’

मसालले देशैभर सुरु गर्‍यो ‘ऐतिहासिक तीन अभियान’

नेपालखबर
बैशाख १८, २०८० सोमबार १९:४२, काठमाडौँ

नेकपा (मसाल) ले मजदुर दिवसका अवसर पारेर एक वर्षे कार्यक्रम ‘ऐतिहासिक तीन अभियान’ सुरु गरेको छ।

महामन्त्री मोहनविक्रम सिंहले बुटवलबाट अभियानको उद्घाटन गरेका छन् भने काठमाडौंमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र अन्य जिल्लाहरुमा केन्द्रीय तथा जिल्लास्तरका नेताहरुले कार्यक्रमको एकैसाथ उद्‍घाटन गरे।

मसालले घोषणा गरेको ऐतिहासिक तीन अभियान अन्तर्गत कम्युनिष्ट पार्टीको स्थापना भएको ७५ वर्षका अवसरमा हिरक जयन्ती, लेनिनको स्मृति शताब्दी र पार्टीको नवौं महाधिवेशन तयारीको विशेष कार्यक्रम वर्षभरी गरिने मसालले जनाएको छ।

बुटवलमा आयोजित कार्यक्रकलाई सम्बोधन गर्दै मसाल महामन्त्री मोहनविक्रम सिंहले ऐतिहासिक तीन अभियानलाई आन्दोलनको रूपमा सफल पार्न आह्वान गरेका छन्।

महामन्त्री सिंहले देशमा अझै पनि प्रतिगामी खतरा कायम रहेको र अर्कातिर साम्राज्यवादी खतरा झन् खतरानक रूपमा आएकाले दुवै शक्तिहरु विरुद्ध लड्न आवश्यक रहेको औँल्याए।

यता, काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टीमा अन्तरविरोध आउँदासाथ पार्टी छोड्नुको कारण कठिनाइसँग जुध्न नसक्ने मनस्थितिका कारणले भएको बताएका छन्।

‘पार्टीभित्र अन्तरविरोध उत्पन्न हुनेबित्तिकै मानिसहरू किन पार्टी छोडेर हिँड्छन्, तपाईंलाई थाहा छ नि’ उनले भने, ‘उनीहरूमा यस्तो अप्ठ्यारो बाटो हिँड्ने साहस हुँदैन र पछि हट्छन्।’

अध्यक्ष केसीले थपे,– ‘हामीले यस्तो अठोट लिनुपर्दछ, अरू सबैले कम्युनिस्ट आन्दोलन छोडे पनि, अरू सबै बिग्रिए पनि म एक्लै भए पनि उभिनुपर्दछ। तब मेरा पछाडि अरू मानिसहरू उभिने छन्।’
मसालले सोमबार एकैदिन देशका अधिकांश जिल्लामा कार्यक्रम गरी अभियान सुरु गरेको हो।

यसैबीच राष्ट्रिय जनमोर्चाले आगामी जेठ १ देखि १५ गतेसम्म अमेरिकी हस्तक्षेपविरुद्ध देशब्यापी कार्यक्रम गर्ने जनाएको छ। कार्यक्रमको सुरुवात महेन्द्रनगर र बागलुङबाट हुनेछ भने समापन बुटवल र काठमाडौंमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .