प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पनि युद्ध छाडेर शान्तिको अनुशरण गर्दा जीवनको उत्तरार्दधमा गौतम बुद्धको अनुयायी बनेका सम्राट अशोक जस्तै रहेको बताएका छन्।
२५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० समारोहलाई शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हु्न्।
‘मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ’, उनले सम्बोधनका क्रममा भने, ‘नेपाली समाजको आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्तिप्रक्रियामा रूपान्तरण भइसकेको छ।’
प्रचण्डले क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको परिपुरकका रूपमा व्यवहारसिद्ध गर्नुलाई उपलब्धिका रुपमा चर्चा गरे।
‘राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाहरूबाट हामी प्रभावित मात्र होइन, हाम्रो विशिष्टता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ,’ उनले भने, ‘तर, यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपर्थ्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूति हुन्छ। यसतर्फ ध्यान दिन म बौद्धिक समुदायलाई अपील गर्दछु।’
उनले सम्राट अशोकले ईशापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहित ३ वटा स्तम्भ स्थापना गरेको पनि सम्झाए।
‘ती स्तम्भका शिलालेख, चिनिया तीर्थयात्रीहरूका यात्रा वृत्तान्त, पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा बुद्धको जन्म भएको भन्ने तथ्य प्रमाणित भयो’, उनले भनेका छन्, ‘नवलपरासीमा अवस्थित रामग्रामको स्तुपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले वृहत्तर लुम्बिनीलाई बुद्धहरूको भूमि बनाएको छ। यस्तो तीर्थस्थल जहाँ एक घण्टाको यात्रावाट ३ वटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहीँ पनि छैन। त्यसैले बृहत्तर लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिसयोक्ति हुँदैन।’
Shares
प्रतिक्रिया