प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराए।
सांसद गैरेले यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए।
उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो। यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो। देशद्रोही काम हो। त्यसकारणले यस्तो काममा संलग्न मानिसहरुलाई छिटो भन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्दछ। कारबाही गरिनु पर्दछ।’
उनले थपे, ‘यतिमात्रै होइन। हामीले सुनिरहेका छौं कि विभिन्न समाचार माध्यमहरुमा केही व्यक्तिहरु पक्राउ परेका छन्। केही सांसदहरुलाई वारेन्ट गरिएको छ। भागी राख्नु भएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। उहाँ सदनमै हुनुहुन्छ। सदनमा बोलिराख्नु भएको छ। यो के भएको हो? म यो सदनमार्फत, सभामुखमार्फत सरकारलाई यो विषयमा जाँचबुझ के भइरहेको छ? छानबिन के भइरहेको छ? यसमा संलग्न को हुन्? यसमा सरकारले के गरिरहेको छ?’
Shares
प्रतिक्रिया