ad ad

राजनीति


बालकृष्ण खाँणले अनुसन्धानलाई सहयोग गर्नुभएको छ : कांग्रेस

बालकृष्ण खाँणले अनुसन्धानलाई सहयोग गर्नुभएको छ : कांग्रेस

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १९:१०, काठमाडौँ

नेपाली कांग्रेसले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रहरीको अनुसन्धानमा सहयोग गरिरहेको दाबी गरेको छ। 

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले दोषीलाई कुनै हालतमा छाड्न नहुने निश्कर्ष निकालेको सहमहामन्त्री जीवन परियारले बताए। 

‘कुनैपनि मुद्दा, अनुसन्धानको क्रममा कुनैपनि व्यक्तिलाई पक्राउ पर्नेबित्तिकै दोषी हुन सक्दैन। अभियुक्तको रुपमा पनि लिन मिल्दैन। जब अदालतबाट फैसला भइसकेपछि मात्र दोषी ठहरिने हो,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै परियारले भने, ‘बजारमा ब्यापक रुपमा भुटानी शरणार्थी बनाएर अमेरिका लाने प्रपञ्च भइरहेको छ, यसबारेमा सरकारले निष्पक्ष र तटस्थ छानविन गर्नुपर्छ। दोषीलाई कुनै हालतमा छाड्नुहुन्न।’

पार्टी नेता खाँण बुटवलमा हुँदा पनि काठमाडौं आएर अनुसन्धानलाई सहयोग गरेको उनको भनाई छ। 

‘कांग्रेसका नेता खाँण बुटवलमा हुनुुहन्थ्यो। उहाँ त्यहीँबाट कतै जान सक्नुहुन्थ्यो। तर उहाँ काठमाडौंमा नै आउनुभयो र निवासबाटै पक्राउ पर्नुभयो। हाम्रो पार्टीको नेताले अनुसन्धानलाई सहयोग गर्नुभएको छ,’ उनले भने, ‘नेकपा एमालेको पदाधिकारी आज पनि फरार हुनुहुन्छ। तर कांग्रेस पार्टी दोषीलाई उम्काउने पक्षमा छैन।’

दोषीलाई अनुसन्धानका क्रममा सत्यतथ्य छानविन हुनुपर्ने र अनुसन्धान प्रभावित हुन नहुने कांग्रेसको आधिकारिक धारणा रहेको पनि उनले बताए। 

‘अदालतले भनेको कुरा हामीले मान्न तयार छौं। हामी अनुसन्धानलाई सहयोग गर्ने कुरामा पार्टी प्रतिवद्ध छ,’ उनले भने। 

साथै, बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने भनेर आएको समाचारमा सत्यता नभएको उनले बताए। 

हिजोको बैठकमा निलम्बन गर्नुपर्छ भनेर कुरा उठेको छ नि? हो? भन्ने सञ्चारकर्मीको प्रश्नको बैठकमा उनले भने, ‘टोपबहादुरलाई पार्टीबाट निलम्बन गर्यो भन्ने समाचार पढ्यौं। त्यो विषय छलफलमा आयो, आएन भन्दिँन। हाम्रो पार्टीले दोषी ठहरिएपछि के गर्ने भन्ने विषयमा पछि होला,’ परियारले भने, ‘अदालतमा विचाराधिन विषयमा नै कांग्रेसले नै आधिकारिक धारणा बनाएर एउटै धारणा जाओस् भन्ने हाम्रो छ। जसरी हिजो बैठकमा दुई धारको कुरा आयो भनेर समाचार आयो त्यो चाहीँ होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .