प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता पक्षले लगाएको आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताएका छन्।
पशुपतिमा लगाइएको जलहारी सुनको नभइ पित्तलको भएको आरोपसहित त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गरेको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताएका थिए।
यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको आरोप पुष्टि नभएसम्म संसद चल्न नदिने अडान नेम्वाङले लिएका हुन्।
‘जेठ १० गते माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथको जलहारीमा भ्रष्टाचार भएको गम्भीर कुरा झिक्नु भयो। यो आरोप कसरी आएको छ, तथ्यमा आधारित भएर आएको हो कि होइन? पशुपतिमा लगाएको सुन होइन, पित्तल हो भनियो। यसबारे जनताले बुझ्न पाउनुपर्छ, सरकारले यो विषयमा जवाफ दिनुपर्छ। कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन।’
नेम्वाङले सरकाले जलहारीमा लगाइएको सुन हो कि पित्तल हो जवाफ दिनुपर्ने उनले बताए।
‘सत्ता पक्षले सुनको जलहारी चढाउने भनेर पित्तलको जलहारी चढाइ भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो’, उनले भने, ‘सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ। हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ।’
एमाले सांसदहरुले वेल घेराउसहित नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।
Shares
प्रतिक्रिया