टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज रिहा हुँदै छन्।
काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका उनलाई गणतन्त्र दिवसका अवसरमा सरकारले आममाफी दिएपछि आज जेठ १५ गते जेलबाट छुट्ने भएका हुन्।
उनलाई लिन नागरिक उन्मुक्तिका नेता-कार्यकर्ता बिहानै डिल्लीबजार कारागारबाहिर भेला भइसकेका छन्।
रेशम रिहा हुने निश्चित भएपछि उनको गृहजिल्ला कैलालीबाट नागरिक उन्मुक्तिका नेता–कार्यकर्ता हिजै (आइतबार) काठमाडौं आएका थिए।
उनलाई अहिले बिहान ८ बजे रिहा गर्ने तयारी रहेको बताइएको छ।
थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए।
उक्त घटनामा रेशमलाई जिल्ला, उच्च र सर्वाेच्च तीनै अदालतले जन्मकैदको फैसला सुनाएका थिए।
तर यही जेठ १२ र १४ गते बसेका मन्त्रिपरिषद् बैठकका सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पाैडेलले टोपबहादुर बुढासमेत १९ जनालाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय आममाफी दिएका छन्। यिनै १९ जनामध्येमा रेशम चौधरीले पनि आममाफी पाएका हुन्।
पौडेलले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुको सजाय माफी दिएका हुन्।
दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ।
यस्तै गणतन्त्र दिवसका अवसरमा आज रमेश थलङ भन्ने हेमबहादुर थलङ (लिम्बू) समेत ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसहित ७ जनासहित जम्मा ४८२ जना कैदी रिहा हुँदै छन्।
Shares
प्रतिक्रिया