प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र मात्र नभई देश बाहिर पनि आफूले नराम्रो गर्दै नगर्ने संकल्प लिएको बताएका छन्।
मंगगलबार राति भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले राम्रो काम गर्नकै लागि आफू युद्धको बेलामा भन्दापनि व्यस्त रहेको दाबी गरे।
‘देशभित्र मात्र होइन देश बाहिर पनि आफूले राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो चै गर्दै नगर्ने संकल्प गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘केही राम्रो गर्नका लागि बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु।’
पार्टीलाई राजनैतिक, बैचारिक, सांगठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको उनले बताए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष्ट कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा रहनुभएका कमरेडहरुलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन,’ उनले भने।
उनले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन बिचारलाई स्पष्ट गर्ने, संगठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको पनि बताए।
प्रधानमन्त्रीले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको स्पष्ट गरे।
‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौं, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौं,’ प्रचण्डले भने। विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढंगले संकल्पका साथ लिएको पनि उनले उल्लेख गरे।
‘अब राजनीतिक परिवर्तन त भयो तर राष्ट्र र जनताको जीवनमा र यसको प्रतिष्ठा अभिवृद्धि गर्ने कुरामा खासै परिवर्तन भएको छैन। यसको फाइदा जनतालाई भ्रम दिनेहरुबाट हुन थालेको छ,’ उनले भने, ‘त्यसका लागि अब जनतामा नयाँ आन्दोलन वा नयाँ खालको क्रान्तिको आवश्यकता भएको छ। हामीले गर्दा मात्र सम्भव छ। अरुले गर्दा यो सम्भव हुने कुरा होइन।’
प्रधानमन्त्रीले भोलिदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको पनि बताए।
Shares
प्रतिक्रिया