नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन्।
बिहीवार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका हुन्।
उनले कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरु भत्काउनु आवश्यक रहेको बताए। उनले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाइहरुको साथ छोड्न आग्रह गरे।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ। जम्मा कांग्रेसमा दुईवटा गुट छ भन्ने बनाउँ। जम्मा दुईवटा गुट कांग्रेसमा अब। एउटा गुट कांग्रेसमा परिवर्तन चाहने गुट। एउटा गुट परिवर्तन रोक्ने गुट। यो दाई, त्यो दाई सबै छोडिदिनुहोस्। हिजोको दाइसँग को लाग्यो सब बिर्सौं अब।’
उनले थपे, ‘अब कांग्रेसभित्र कांग्रेस बदलेर छोड्ने एउटा गुट, होइन बदल्न मिल्दैन कहाँ दाइहरु रिसाउनुहुन्छ भन्ने हो भने त्यो अर्को गुट। जो दाइसँग लाग्छ दाइसँगै जाने। जो आउँछ त्यो सँगसँगै जाने। गर्दै जाने, काम गर्दै जाने। यो बाटो बनाउन सकियो भने पार्टी बाँच्यो। पार्टी बचाउने हो।’
महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरुबाट आजित रहेको उल्लेख गर्दै कांग्रेसले यि तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए। उनले कांग्रेसले मानिसहरुलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरु पार्टीमा आउने बताए। उनले कांग्रेसको पुनःनिर्माण सम्भव भएको बताए।
Shares
प्रतिक्रिया