राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद भवनमा राखिएको भारतको नक्शामा समावेश गरिएको नेपाली भूमिबारे संसदको रोष्टममा आएर जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने उनको अडान थियो।
यसअघि एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि अध्यक्ष लिङदेनले पनि बोल्नका लागि समय पाएका थिए। त्यसक्रममा उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा घोर आपत्ति जनाउँदै त्यसलाई तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गरे।
अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु केही घण्टा अघि मात्रै किन त्यो विधेयक प्रमाणिकरण गर्नु परेको पनि सरकारलाई प्रश्न समेत गरे।
उनले भने, ‘अहिले पछिल्लो दिनमा जुन प्रक्रियाबाट र त्यो पनि जुन समयमा नागरिकता विधेयक प्रमाणिकरण गरियो। त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर विरोध र भत्सर्ना गर्दछ। हामी दोहोर्याएर भन्न चाहन्छौं–चाडो भन्दा चाँडो यसलाई प्रक्रियामा ल्याउनु पर्यो। यही संसदबाट यसलाई अगाडि बढाउनु पर्यो। यसमा कुनै प्रकारको ढिलाई नगरियोस्। र, यो जुन गल्ती गरिएको छ। यसलाई सच्याईयोस्।’
उनले थपे, ‘यत्रो दिन किन यो नागरिकत विधेयक प्रमाणीकरण गर्नु परेन? अथवा सरकारको चासोको विषय भएन? र, भारत भ्रमण गर्नु भन्दा १-२ घण्टा अगाडि चाहिँ त्यसलाई किन प्रमाणीकरण गर्नु पर्यो? कसको स्वार्थका लागि र कसको खुशीको लागि यो काम गरियो? यसको जवाफ चाहियो। हामी जवाफ चाहन्छौँ।’
यस्तै, उनले केवल नागरिकता विधेयकको कुरा मात्रै होइन, आममाफीको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए।
Shares
प्रतिक्रिया