प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको आधिकारिकताामाथि प्रश्न उठाउँदै संसदमा विरोध गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्दा संविधान मिच्न बाध्य हुनुपरेको बताएपछि प्रतिपक्षी एमालेले विरोध गरेको थियो।
एमालेको विरोधपछि सभामुख देवराज घिमिरेले नियमापत्तिबारे कुरा राख्न एमाले सांसद रघुजी पन्तलाई समय दिए।
पन्तले संविधानको धारा १११ बमोजिम अहिले प्रमाणीकरण भएको विधेयकको आधिकारिकतामाथि प्रश्न उठाए।
‘संविधानको धारा १११ बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिने विधेयक उत्पति सदनको सभामुख वा अध्यक्षले प्रमाणीत गरी पेश गर्नुपर्नेछ,’ पन्तले भने, ‘अहिलेको विधेयकमा तपाईको सही छ? सभामुखको हैसियतले तपाईंले सही गर्नुभएको छ? छैन भने यो विधेयक कसरी आधिकारिक भयो?’
राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक निष्क्रिय अवस्थामा रहेको उनको तर्क छ।
‘यो विधेयक निष्क्रिय अवस्थामा छ, यसलाई अदालतको अन्तरिम आदेशले पनि पुष्टि गर्यो। यो अदालतमा गइसकेको कारणले प्रधानमन्त्रीले यहाँ व्याख्या गर्ने होइन, अदालतको विषय बनिसक्यो,’ सांसद पन्तले भने।
Shares
प्रतिक्रिया