प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकसँग जमिन सट्टापट्टाको कुरा नगरेको बताएका छन्।
राष्ट्रियसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले अहिले विरोध गरिरहेका पार्टीका नेताले पहिले निर्णय नै गराएको दाबी गरे।
उनले भने, 'साथीहरूले भन्नुभयो–सट्टापट्टा। मैले भनेकै होइन, मैले विगतदेखि यो तर्क पनि छ भनेँ, पत्रकारहरूसँग। अहिले ठ्याक्कै प्रमाण त देखाउन सकिनँ, सायद समय आउँछ, प्रमाण पनि देखाउँछु। अहिले जो-जो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ..पनि गर्नुहुन्थेन भन्नुभएको छ, उहाँहरूले सट्टाको निर्णय गराउनुभएको छ।’
उनले आफूले आफ्नो बर्कतले भ्याएसम्म राष्ट्रिय हितको पक्षमा सहमति गरेर आएको बताए।
अहिले केही भएन भन्ने दलले यसअघि नेतृत्व गरेको बताउँदै उनले प्रश्न गरे, 'अरु थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ के गर्नु भएको थियो?' उनले पहिलोपटक भारत र नेपालका प्रधानमन्त्रीले सीमा समस्या हल गर्छौँ भनेर प्रतिवद्धता जनाएको भन्दै नयाँ सुरुवात भएकोव बताए।
उनले भने,'राम्रो विश्वासको वातावरण बनाएर मात्र लिपुलेक कालापानीको समस्या हल हुने हो। एकले अर्कालाई पोलिटिक्स मात्र गरिराखेर यो त बल्झिने मात्र हो, कचिंगल हुने मात्र हो।’
Shares
प्रतिक्रिया