ad ad

राजनीति


‘पशुपतिको जलहरीमा सुन कम भए फाँसीमा चढ्न तयार छु’

‘पशुपतिको जलहरीमा सुन कम भए फाँसीमा चढ्न तयार छु’

डा. मिलनकुमार थापा


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १५:५७, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिएका हुन्।

उनले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए। आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहभरी आँशु झारे।

आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यही हो? भनि प्रश्न समेत गरे।

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु नपर्ने पनि बताए। उनले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र? भनि सांसदहरुसँग जिज्ञासा समेत राखे।

सदस्य सचिव थापाले भने, ‘सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्महत्या गर्नुपर्ने हो? माननीयज्यूहरु। म यो सुनको जलहरी समितिको संयोजक हो। यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौता अनुसार हामीले सुन लिएर आएका छौं–१०३ केजी। त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो। राज्यका प्रमुखहरुले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो? त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो। उहाँहरुको निर्देशनमा हामीलाई शिवरात्री भरीमा त्यो सकाउनु भनिएको थियो। हामीले सकायौं। गल्ती के गर्यौं?’

उनले थपे, ‘यति त्रुटिपूर्ण भएको हो कि हामीले त्यो सुनको जलहरी हाल्दैगर्दा हाम्रो प्रदेश सांसद नरोत्तम बैद्य र अधिवक्ता निकिता ढुंगानाले सुनको जलहरी हाल्नु हुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याउनु भयो। ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ। १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै हो। १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ। कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी हाल्यो। यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ। म मृत्युदण्ड लिन तयार छु।’

उनले यो विषयमा छानबिन गर्नसमेत माग गरे। सुन नपुगे आफूलाई फाँसी दिन पनि उनले चुनाैती दिए।

थापाले भने, ‘आयोगले छानबिन गर्न नपर्ने ? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ। जोखेर मुद्दा चलाउन। यो च्यालेन्ज हो। पुगेन पनि फाँसीदेऊ भनेको। तर हाम्रा पत्रकार साथीहरुले यथार्थ नबुझिकन सुनचोर भनेर निकालिदिनु हुन्छ। मेरा दुईटा बच्चा छन। मेरो बच्चाको भविष्य अन्धकार बनाई दिने? राज्यको त्यही नीति हो?’

सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताए।

त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दाबी थियो।

बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .