ad ad

राजनीति


दल र नेताले आफूप्रति उठेका प्रश्नको जवाफ व्यवहारबाट दिनुपर्छ- नेता पुन

दल र नेताले आफूप्रति उठेका प्रश्नको जवाफ व्यवहारबाट दिनुपर्छ- नेता पुन

फाइल तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १३:३३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले राजनीतिक दल तथा तिनका नेताविरुद्ध जनस्तरबाट प्रश्नहरू उठिरहेको बताएका छन्। तर त्यसलाई नकारात्मक रूपमा लिन नहुने उनको भनाइ छ। 

चीनमा चार महिना उपचार गराएर शुक्रबार स्वदेश फर्किएका पुनले आफ्नो स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आएका पार्टीका नेता/कार्यकर्ता तथा शुभचिन्तकसँग कुरा गर्दै उक्त धारणा राखेका हुन्। 

लोकतन्त्रमा कोही पनि जनताको प्रश्नभन्दा बाहिर हुन नसक्ने उल्लेख गर्दै उनले राजनीतिक दल र नेताहरुले आफूप्रति उठेका प्रश्नको जवाफ व्यवहारबाटै दिन सक्नुपर्ने बताए। राजनीतिक दल र नेताहरु नयाँ अग्निपरीक्षामा रहेको भन्दै पुनले जनताका एक/एक प्रश्न र आशंकाको जवाफ दिनुपर्नेमा जोड दिए।

‘राजनीतिमाथि, नेताहरुमाथि र राजनीतिक दलहरुमाथि प्रश्न उठेको छ। प्रश्न उठ्नु नराम्रो होइन’, नेता पुनले भने, ‘तर  प्रश्नहरुको सकारात्मक जवाफ दिनु राजनीतिक दल र नेताहरुको कर्तव्य हो। व्यवहारबाटै त्यसको जवाफ दिइनुपर्छ, राजनीतिक व्यवस्था, दल र नेताहरुको औचित्य साबित गर्न सक्नुपर्छ, यो हाम्रो दायित्व हो।’

व्यवस्था बदलेका राजनीतिक दल र नेतृत्वसँग जनताले अवस्था बदलियोस् भन्ने अपेक्षा राख्नु गलत नहुने उनले बताए। सबै राजनीतिक दल र नेताहरुको ध्यान मुलुकको अवस्था बदल्न आर्थिक तीव्र वृद्धिमा हुनुपर्ने पनि उनले औंल्याए। 

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका क्षेत्रमा नयाँ र राम्रका कामको थालनी गरेको भन्दै प्रशंसा गरे। राम्रा कामहरुका कारण सरकारप्रति जनसमर्थन रहेको दाबी पनि उनले गरे। वर्तमान सरकारले शासन-प्रशासनमा जनताको अपेक्षाअनुसार काम गर्ने र सुशासन कायम गर्ने कुरामा सम्झौता नगर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .