परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी मुद्दामा जेलमा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेटेका छन्।
खाँण भेट्न कांग्रेस नेतासमेत रहेका परराष्ट्रमन्त्री एनपी साउद बिहीबार केन्द्रीय कारागार (सुन्धारा) पुगेका हुन्। उनीसँगै कांग्रेसका सहमहामन्त्रीद्वय भीष्मराज आङ्देम्बे र महेन्द्र यादव तथा प्रदेशमन्त्री डिल्ली चौधरी पनि केन्द्रीय कारागार पुगेका थिए।
केन्द्रीय कारागार प्रशासनका अनुसार बिहीबार बिहान १० बजे पुगेका परराष्ट्रमन्त्री साउद र खाँणबीच आधा घण्टाभन्दा बढी कुराकानी भएको थियो।
भेटमा समसामयिक राजनीति, कांग्रेसको आन्तरिक राजनीतिलगायत विषयमा कुराकानी भएको कारागार स्रोतले जनाएको छ।
खाँण र साउदबीच कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्ष हुँदाको गहिरो सम्बन्ध छ। २०४६ सालको जनआन्दोलनताका खाँण नेविसंघ अध्यक्ष थिए। खाँणले गरेको महाधिवेशनबाट साउद अध्यक्षमा चुनिएका थिए।
खाँण पछि २०६२/०६३ मा तरुण दलको अध्यक्ष पनि भए। तर, साउद भने तरुण दलमा राजनीति गरेनन्।
कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाँण र साउद पार्टीभित्र संगठन भएका प्रभवशाली नेता मानिन्छन्। कांग्रेसको १४औँ महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ साउद दोस्रो र खाँण तेस्रो बढी मत ल्याएर विजयी भएका नेता हुन्।
नक्कली शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले यही असार १ गते खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
Shares
प्रतिक्रिया