सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितका पक्षमा मतदान गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले आज (बुधबार) निर्णय गर्ने भएका छन्।
बजेट संशोधन नगरीकन पारित नगर्ने अडानमा रहेका उनीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपछि सकारात्मक भएका छन्।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले बजेट पासका पक्षमा मतदान गर्छ। उनले नेपालखबरसँग भने, ‘बुधबार (आज) बिहान १० बजे दलको बैठक बसेर यसबारे औपचारिक निर्णय गर्छौं।’
यस्तै जनमत पार्टीकी प्रमुख सचेतक अनिता साहले पनि बजेट पारितबारे आजै बिहान संसदीय दलको बैठक राखेर निर्णय हुने जानकारी दिएकी छन्।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले जनमतका अध्यक्ष सीके राउतलाई सम्पर्क गरी बजेट पासका पक्षमा मतदान गर्न आग्रह गरेका थिए।
जवाफमा अध्यक्ष राउतले आज (बुधबार) संसदीय दलमा छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन्।
सरकारले आजै बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा बजेट पारितको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
Shares
प्रतिक्रिया