सभामुख देवराज घिमिरेले मंगलबार (आज) प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन्।
सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन्।
सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी हुने बताइएको छ।
वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। गठन गरिएको दुई सातापछि जेठ २ गते एकसाथ १० वटै समितिका बैठक सुरु भएका छन्। तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकबारे छलफल गर्न सकेका छैनन्।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटकपटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्।
Shares
प्रतिक्रिया